काठमाडौं – दूध अभावका कारण गत माघदेखि बन्द रहेको चितवन मिल्क उद्योग १० महिनापछि पुनः सञ्चालनमा आएको छ । कात्तिक लागेसँगै बिदाका दिनबाहेक नियमित रूपमा दूध आपूर्ति हुन थालेपछि उद्योगले पुनः प्रशोधन सुरु गरेको हो । उद्योगका प्रबन्धक दुर्गा पराजुलीका अनुसार भदौ र असोजमा केही दिन आंशिक रूपमा सञ्चालन भएको उद्योगमा कात्तिकदेखि दूधको आपूर्ति बढेको हो । अहिले दैनिक ५० देखि ६० हजार लिटर दूध प्रशोधनका लागि आउने गरेको उनले बताए । विगतका वर्षमा भने दैनिक ८० देखि ९० हजार लिटरसम्म दूध आउने गरेको थियो ।
गत वर्ष दूध अभावका कारण उद्योग तीन महिना मात्र बन्द भएको थियो । यस वर्ष भारतीय सीमावर्ती क्षेत्रबाट आउने दूध रोकिएपछि आपूर्तिमा कमी आएको प्रबन्धक पराजुलीले बताए । सहकारी र डेरीले सङ्कलन गरेको दूध सीधै बिक्री गर्न पाएपछि प्रशोधनका लागि उद्योगमा ल्याउन छाडेकाले पनि आपूर्ति घटेको उनको भनाइ छ ।
किसानबाट सङ्कलित दूध बिक्री नभएको अवस्थामा सहकारी र डेरीले बचत दूध उद्योगमा ल्याएर प्रशोधन गराउने गरेका छन् । उद्योगले त्यस्तो दूधबाट धुलो दूध र नौनी उत्पादन गर्दै आएको छ । दूध आउन छाडेपछि उद्योग आफैँले खरिद गरेर सञ्चालन गर्ने तयारी गरे पनि पर्याप्त दूध उपलब्ध हुन नसक्दा त्यो सम्भव नभएको पराजुलीले बताए ।
अहिले चितवन, मकवानपुर, नवलपरासी, रुपन्देही र सर्लाहीलगायत जिल्लाबाट दूध आउन थालेको छ । गत वर्ष बिक्री नभएपछि डेरी तथा सहकारीले प्रशोधनका लागि उद्योगमा ल्याएका नौनी, घ्यू र धुलो दूध अहिले लगिसकेका छन् । ती उत्पादन लामो समयसम्म थन्किँदा उद्योगका भण्डारणस्थल भरिएका थिए । अहिले ती भण्डारणस्थल खाली भएका छन् ।
भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेको उद्योगले २०७५ सालदेखि डेरी तथा सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्दै आएको छ । उद्योगले प्रतिलिटर दूधबाट धुलो दूध बनाउँदा ११३ रुपैयाँ र प्रतिकिलो नौनी (बटर) प्रशोधन गर्दा ५५ रुपैयाँ शुल्क लिने गरेको छ । २०६४ सालमा स्थापना भएको चितवन मिल्क उद्योग २०७२ सालको भूकम्पपछि बन्द भएको थियो । बन्द हुनुअघि उद्योगले आफैँ दूध खरिद गरी प्रशोधन गरेर बजारमा बिक्री गर्ने गरेको प्रबन्धक पराजुलीले बताए ।






















