images
images
  • ट्रम्प, सी र पुटिनबीचको भेटवार्ताले इरान–अमेरिका, रूस–युक्रेन युद्ध अन्त्य होला ?

    काठमाडौं– चीनले अमेरिका, रूस र चीनका राष्ट्रपतिबीच विश्व शान्तिका विषयमा गहन छलफल हुने जनाएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच यसै साता चीनमा पहिलोपटक त्रिपक्षीय शिखर वार्ता हुन लागेको हो ।

    चिनियाँ विदेश मन्त्रालयले सोमबार तीन देशका राष्ट्रपतिबीच विश्व शान्ति संरक्षण र अन्तर्राष्ट्रिय सम्बन्धमा स्थायित्व प्रवर्द्धन गर्ने विषयमा गहन छलफल हुने जानकारी दिएको हो ।

    तीनै नेताबीच बिहीबार चीनको दक्षिणी सहर सेन्जेनमा एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको अवसरमा भेटवार्ता हुने कार्यक्रम छ ।

    चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले यो भेटवार्ता विश्व राजनीतिका लागि महत्वपूर्ण हुने बताएकी छन् ।

    उनका अनुसार वार्तामा विश्व शान्ति र स्थायित्व कायम गर्ने विषयलाई प्राथमिकता दिइनेछ ।

    युक्रेन युद्धबारे छलफल हुने सम्भावना न्यून

    अमेरिकी राष्ट्रपति ट्रम्पले यसअघि नै तीन नेताबीचको भेटवार्ता रोचक हुने बताएका थिए ।

    नोभेम्बर ८ मा फ्लोरिडाको विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आणविक निशस्त्रीकरणसहित विभिन्न विषयमा छलफल हुने बताएका थिए ।

    उनले इरानमा जारी युद्ध अन्त्य गर्ने प्रयासबारे पनि छलफल हुन सक्ने संकेत गरेका थिए ।

    तर ट्रम्पले आफ्नो अभिव्यक्तिमा रूस–युक्रेन युद्धबारे भने उल्लेख गरेका थिएनन् ।

    गत महिना प्रकाशित वाल स्ट्रिट जर्नलको एक रिपोर्टअनुसार रूसी राष्ट्रपति पुटिनले मस्कोको हितअनुकूल युक्रेन युद्ध अन्त्य गर्ने शान्ति सम्झौताका लागि यो वार्तालाई उपयोग गर्न चाहेका छन् ।

    यद्यपि, अमेरिकी अधिकारीहरूले ट्रम्पले यस भेटवार्तामा युक्रेनको विषय उठाउने सम्भावना नरहेको बताएका छन् ।

    चीन भ्रमणपछि जर्मनीका राष्ट्रपति फ्र्याङ्क–वाल्टर स्टाइनमायरले युक्रेन युद्धबारे प्रश्न गर्दा सी चिनफिङ असहज देखिएको बताएका थिए ।

    सीले युक्रेन युद्ध युरोपसँग सम्बन्धित विषय भएकाले शान्ति प्रक्रियामा युरोपेली देशहरू पनि सहभागी हुनुपर्ने स्पष्ट पारेको स्टाइनमायरको भनाइ थियो ।

    जर्मन चान्सलर फ्रेडरिक मर्जले पनि शुक्रबार ट्रम्पलाई पुटिनसँगको वार्तामा युक्रेनबारे कुनै अप्रत्याशित निर्णय नगर्न आग्रह गरेका थिए ।

    उनले युरोप र युक्रेनको पक्षमा रहेको साझा धारणा कायम राख्न ट्रम्पलाई सुझाव दिएका थिए ।

    आणविक निशस्त्रीकरणमा सहमति सम्भव छ ?

    तीन नेताबीचको वार्तामा आणविक हतियार नियन्त्रण र निशस्त्रीकरणको विषय पनि महत्वपूर्ण बन्न सक्ने देखिएको छ ।

    अमेरिकाले भविष्यमा हुने आणविक हतियार नियन्त्रणसम्बन्धी सम्झौतामा चीनलाई पनि सहभागी गराउन चाहेको छ ।

    तर चीनले त्यसअघि अमेरिका र रूसले आफ्नो आणविक हतियारको भण्डार घटाउनुपर्ने अडान राख्दै आएको छ ।

    गत फेब्रुअरीमा अमेरिका र रुसबीचको आणविक हतियार नियन्त्रणसम्बन्धी सन्धिको अवधि समाप्त भएपछि ट्रम्पले व्यापक निशस्त्रीकरण वार्ताको प्रस्ताव गरेका थिए ।

    तर चीनले उक्त प्रस्ताव अस्वीकार गरेको थियो ।

    यसै साता चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच भएको टेलिफोन वार्तामा विश्व शान्ति र आणविक निशस्त्रीकरणका लक्ष्य हासिल गर्न उच्चस्तरीय संवादको महत्वबारे सहमति भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

    संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सोमबार तीनै नेताले अर्थपूर्ण आणविक निशस्त्रीकरणका लागि प्रतिबद्धता जनाए त्यो विश्वकै लागि ठूलो उपलब्धि हुने बताएका छन् ।

    इरान युद्धको अवस्था के छ ?

    अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि आक्रमण सुरु गरेपछि मध्यपूर्वमा जारी युद्ध पछिल्लो समय केही मत्थर भएको छ ।

    तर द्वन्द्वसँग सम्बन्धित प्रमुख विषयहरू अझै समाधान भएका छैनन् ।

    पछिल्ला साताहरूमा निर्वाचनका कारण अमेरिका र इजरायलले ठूला सैन्य आक्रमण रोकेका छन् ।

    तर इरानले विश्वको महत्वपूर्ण तेल तथा प्राकृतिक ग्यास आपूर्ति मार्ग होर्मुज जलडमरूमध्यमा आफ्नो नियन्त्रण कायम राख्ने प्रयास जारी राखेको छ ।

    उक्त जलमार्ग प्रयोग गर्ने अनुमति नलिएका जहाजमाथि पनि इरानले आक्रमण गरिरहेको समाचारमा उल्लेख छ ।

    अमेरिकी राष्ट्रपति ट्रम्पले अक्टोबरमा मध्यावधि निर्वाचनअघि इरानमाथि फेरि सीमित सैन्य कारबाही हुन सक्ने सङ्केत गरेका थिए ।

    तर त्यसको समयसीमा भने खुलाएका थिएनन् ।

    यसअघि अप्रिलमा पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबीच भएको शान्ति वार्ताले पनि दीर्घकालीन समाधान निकाल्न सकेको थिएन ।

    इरानको महत्वपूर्ण आर्थिक साझेदार चीनले भने यस द्वन्द्वमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने प्रयास गर्दै आएको छ ।

    बेइजिङले पछिल्ला साताहरूमा मध्यपूर्वका विभिन्न देशका नेता तथा कूटनीतिज्ञलाई चीनमा आमन्त्रण गरी द्वन्द्वरत पक्षलाई पुनः वार्ताको टेबलमा फर्काउन पहल गरेको छ ।

    चीनले मध्यपूर्वमा थप तनाव बढ्न नदिनुलाई आफ्नो प्राथमिकतामा राखेको जनाएको छ ।

    अमेरिका, रूस र चीनका राष्ट्रपतिबीच हुन लागेको त्रिपक्षीय वार्तामा युक्रेन, इरान र आणविक निशस्त्रीकरणका विषयले कति स्थान पाउँछन् भन्ने विषयलाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरिरहेको छ । –एजेन्सी

    प्रतिक्रिया दिनुहोस्
    images
    images