काठमाडौं – सर्लाही क्षेत्र नम्बर–४ का संघीय सांसद डा. अमरेशकुमार सिंहले सञ्चालन गर्न लागेको मेची–महाकाली पदयात्राको उद्घाटन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गर्ने भएका छन् ।
सांसद सिंहका अनुसार पदयात्राको उद्घाटन आज बिहान ८ बजे जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिरबाट हुनेछ । उद्घाटन समारोहमा सहभागी हुन उनले रास्वपाका नेता, कार्यकर्ता, शुभेच्छुक, समर्थक तथा सञ्चारकर्मीलाई निमन्त्रणा गरेका छन् ।
मेचीदेखि महाकालीसम्म सञ्चालन हुने पदयात्रालाई राजनीतिक तथा जनसम्पर्क अभियानका रूपमा हेरिएको छ । पदयात्राको उद्घाटनमा रास्वपा सभापति लामिछाने सहभागी हुने भएपछि कार्यक्रमले थप राजनीतिक महत्त्व पाउने अपेक्षा गरिएको छ ।
सांसद सिंहले निर्धारित समयमै जानकी मन्दिरमा उपस्थित भई उद्घाटन समारोह सफल बनाउन सबैलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्























