काठमाडौं – बझाङको बुङ्गल नगरपालिका–१० स्थित टुमेडामा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन् । प्रहरीका अनुसार आइतबार बिहान करिब साढे १० बजे नम्बर नखुलेको अटो दुर्घटनामा परेको हो । दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
मृत्यु हुनेमा बुङ्गल नगरपालिका–१० निवासी अन्दाजी ४० वर्षीया राजमति महरा, १५ वर्षीया तारा महरा र ६ वर्षीया डल्ली महरा रहेका छन् । अटोमा सवार एक बालक भने दुर्घटनापछि बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक टेकबहादुर जोराका अनुसार बेपत्ता बालकको खोजी तथा उद्धार कार्य भइरहेको छ ।
दुर्घटना कसरी भयो भन्ने खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्






















