काठमाडौं – खेतीयोग्य जमिनको अभाव वा कम उर्वर माटोका कारण कृषि उत्पादन गर्न नसकिने भन्ने सोचलाई धनकुटाका एक किसानले चुनौती दिएका छन् । धनकुटा नगरपालिका–९, छिम्सुवाका किशोर भण्डारीले तमोर नदीको बलौटे बगरलाई व्यावसायिक कृषि उद्यमको आधार बनाउँदै वार्षिक १५ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न थालेको छ ।
चारैतिर बालुवा र ढुङ्गा, सिँचाइको सीमित सुविधा तथा मलिलो माटोको अभाव । सामान्यतया खेतीका लागि अनुपयुक्त मानिने तमोर नदीको बगरमा अहिले ड्रागन फ्रुटका बोट हरियालीसहित लहरै फैलिएका छन् । कुनै समय उपयोगविहीन रहेको बगर अहिले फलफूल तथा तरकारी खेतीको उत्पादनस्थल बनेको छ ।
परम्परागत खेतीभन्दा फरक विकल्प खोज्दै भण्डारीले तीन वर्षअघि करिब पाँच रोपनी क्षेत्रफलमा ३०० वटा ड्रागन फ्रुटका बिरुवा रोपेर व्यावसायिक खेती सुरु गरेको थियो । सुक्खा र बलौटे जमिनमा समेत उत्पादन लिन सकिने सम्भावना देखेपछि उनले यो खेती रोजेको हो ।
सुरुआती दिनमा नयाँ बाली भएकाले उत्पादन र बजार दुवैको चुनौती थियो । तर, उत्पादन सुरु भएपछि बजारमा माग र मूल्य राम्रो पाउन थालेसँगै उनको आत्मविश्वास बढ्यो । त्यसपछि खेती विस्तार गर्दै अहिले ड्रागन फ्रुट करिब नौ रोपनी क्षेत्रफलमा फैलिएको छ ।
ड्रागन फ्रुटबाट सुरु भएको उनको कृषि उद्यम अहिले बहुबाली खेतीमा विस्तार भएको छ । एउटै बालीमा निर्भर हुँदा उत्पादनमा समस्या आए आम्दानी प्रभावित हुने र वर्षभरि नियमित आम्दानी लिन कठिन हुने भएकाले उनले जमिनको प्रकृति र हावापानीअनुसार विभिन्न फलफूल तथा तरकारी खेती थपेको हो ।
हाल भण्डारीले करिब पाँच रोपनीमा ५०० बोट एप्पल बयर लगाएको छ । त्यस्तै, करिब १५ रोपनीमा स्थानीय मालभोग जातको केरा खेती विस्तार गरेको छ भने यस वर्ष जी–नाइन जातको केरा पनि परीक्षणका रूपमा लगाएको छ । म्याकाडेमिया, आँप, एभोकाडो र टमाटर खेतीसमेत उहाँको कृषि उद्यममा समेटिएका छन् ।
ड्रागन फ्रुटले देखाएको व्यावसायिक सम्भावना
भण्डारीका लागि ड्रागन फ्रुट खेती व्यावसायिक कृषिको पहिलो खुड्किलो बनेको छ । उनका अनुसार उत्पादन सुरु हुँदा ड्रागन फ्रुट प्रतिकिलो ५०० रुपैयाँसम्म बिक्री भएको थियो । अहिले सिजन र बजारको अवस्थाअनुसार प्रतिकिलो २५० देखि ३०० रुपैयाँसम्म मूल्य पाइरहेको उ बताउछन् ।
उत्पादन खरिद गर्न ग्राहक तथा व्यापारीहरू खेतीस्थलमै आउने गरेका छन् । यसले बजार खोज्दै विभिन्न ठाउँमा पुग्नुपर्ने झन्झटसमेत कम गरेको छ । बगानमै आएर उत्पादन खरिद गर्ने ग्राहक बढ्न थालेपछि ड्रागन फ्रुटको बजार सम्भावनाप्रति थप विश्वस्त भएको उनको भनाइ छ ।
धनकुटामा पछिल्लो समय सुक्खाग्रस्त तथा कम पानी हुने क्षेत्रमा पनि ड्रागन फ्रुट खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । धनकुटा नगरपालिका र साँगुरीगढी गाउँपालिकाका विभिन्न क्षेत्रमा यसको खेती विस्तार हुन थालेको छ । परम्परागत बालीबाट अपेक्षित आम्दानी लिन नसकेका किसानले यसलाई वैकल्पिक व्यावसायिक खेतीका रूपमा अपनाउन थालेका छन् ।
कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार जमिनको प्रकृति र हावापानीअनुसार उपयुक्त प्रविधि अपनाउन सके कम पानी हुने क्षेत्रमा समेत व्यावसायिक खेती गर्न सकिन्छ । केन्द्रले व्यावसायिक खेती गर्ने किसानलाई प्रोत्साहन गर्दै आएको छ । विगतमा अनुदानका कार्यक्रम सञ्चालन गरेको केन्द्रले अहिले आवश्यकताअनुसार विशेषज्ञ सेवा तथा प्राविधिक परामर्श उपलब्ध गराउँदै आएको छ ।
केन्द्रका प्रमुख नगेन्द्र राना मगरले चालु आर्थिक वर्षदेखि अनुदानका कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।
बाली विविधीकरणबाट आम्दानी बढाउने लक्ष्य
एउटै बालीमा निर्भर रहँदा उत्पादनमा समस्या आए आम्दानी प्रभावित हुने भएकाले भण्डारीले फरक–फरक समयमा उत्पादन दिने फलफूल तथा तरकारी खेतीलाई प्राथमिकता दिको छ । ड्रागन फ्रुटपछि सुरु गरिएको एप्पल बयर खेतीबाट आगामी वर्षमा राम्रो उत्पादन हुने उनको अपेक्षा छ । बोटको आकार र उमेर बढ्दै जाँदा उत्पादनसमेत वृद्धि हुने विश्वास उनले गरेको छ ।
नयाँ लगाइएका एप्पल बयर, म्याकाडेमिया र एभोकाडोका बोटले आगामी दुईदेखि चार वर्षभित्र राम्रो उत्पादन दिने उहाँको अनुमान छ । केरा खेतीमा पनि स्थानीय मालभोगसँगै जी–नाइन जातको परीक्षण भइरहेको छ ।
तरकारी खेतीतर्फ टमाटरलाई प्राथमिकता दिनुभएका भण्डारीले यसअघि करेला खेतीको अनुभवसमेत लिनुभएको थियो । तर, करेला उत्पादनमा बढी मेहनत गर्नुपर्ने र बजार व्यवस्थापनमा समस्या हुने भएकाले अपेक्षित आम्दानी लिन नसकेको उनको अनुभव छ ।
सिँचाइ व्यवस्थापनमा सहयोग
तमोरको बगरमा व्यावसायिक खेती विस्तार गर्दा भण्डारीका लागि सबैभन्दा ठूलो चुनौती सिँचाइ व्यवस्थापन थियो । बलौटे जमिनमा पानी नटिक्ने भएकाले नियमित सिँचाइको व्यवस्था नगरी खेती गर्न कठिन थियो । त्यसलाई सहज बनाउन संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को आर्थिक सहयोग र पर्डेप नेपाल धनकुटाको प्राविधिक सहयोगमा सिँचाइ पोखरी निर्माण गरिएको छ ।
पोखरी निर्माणपछि खेतीका लागि आवश्यक पानी व्यवस्थापन गर्न सहज भएको भण्डारी बताउनुहुन्छ । यही सहयोग तथा सहजीकरणबाट केरा खेती विस्तार गर्नसमेत सहयोग पुगेको छ ।
खेती विस्तारसँगै उनको उद्यमले स्थानीयस्तरमा रोजगारीसमेत सिर्जना गरेको छ । कृषि व्यवसायमार्फत आफ्नै ठाउँमा रोजगारी र आम्दानीको अवसर बनाउन सकिने उनको अनुभव छ ।
हाल कृषि व्यवसायबाट वार्षिक १५ लाख रुपैयाँभन्दा बढी आम्दानी भइरहेको भण्डारीले बताउनुभएको छ । विभिन्न बालीले पूर्ण उत्पादन दिन थालेपछि आम्दानी थप बढ्ने उनको अपेक्षा छ । आगामी दुईदेखि चार वर्षभित्र वार्षिक दुईदेखि चार करोड रुपैयाँसम्मको कारोबार गर्ने लक्ष्य राखे उनले त्यसका लागि फलफूल तथा तरकारी खेती विस्तारसँगै बजारको सम्भावनासमेत खोजिरहेको बताए ।






















