images
images
  • यमन सेना फिर्तालगत्तै हुथीको पूर्ण नियन्त्रणमा बाब अल-मन्देब जलडमरुमध्य

    काठमाडौं– यमनको सरकारी सेनाले रणनीतिक रूपमा महत्त्वपूर्ण बाब अल-मन्देब जलडमरूमध्यलाई नियाल्न सकिने क्षेत्रमा रहेको आफ्नो सैन्य उपस्थिति फिर्ता गर्ने घोषणा गरेको छ । उनीहरू पछि हटेसँगै सो क्षेत्र इरान समर्थित हुथी विद्रोही समूहको नियन्त्रणमा पुगेको छ ।

    यमनको सेनाले लालसागरको दक्षिणी छेउमा रहेको महत्त्वपूर्ण सामुद्रिक व्यापारिक मार्गबाट आफ्ना सैनिकलाई फिर्ता बोलाएर अन्तरिम राजधानी अदनको रक्षाका लागि पुनः परिचालन गर्न लागेको जनाएको थियो ।

    अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमन सरकारका पक्षमा लडिरहेका साउदी समर्थित सेनाले भने अन्य क्षेत्रमा रहेका आफ्ना सैनिकलाई थप मजबुत बनाउन सेना फिर्ता बोलाइएको बताएको छ । उनीहरूका अनुसार दक्षिणी सहर अदनको सुरक्षा अहिले प्रमुख प्राथमिकतामा छ ।

    साउदर्न आमर्ड फोर्सेजले आइतबार जारी गरेको विज्ञप्तिमा धुबाब विमानस्थल र बाब अल-मन्देब क्षेत्रबाट आफ्ना सैनिक फिर्ता बोलाइएको उल्लेख छ ।

    विद्यमान खतराको सामना गर्दै अग्रपङ्क्तिका मोर्चालाई थप सुदृढ बनाउने उद्देश्यले यस्तो निर्णय गरिएको विज्ञप्तिमा जनाइएको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘राजधानी अदन र छिमेकी प्रान्तहरूको सुरक्षा सुनिश्चित गर्नु, अग्रपङ्क्तिका मोर्चालाई थप मजबुत बनाउनु र विद्यमान खतराको सामना गर्नु हाम्रो प्राथमिकता भएकाले यो कदम चालिएको हो ।’

    बाब अल-मन्देब जलडमरूमध्य कब्जा गरेपछि हुथी विद्रोहीहरूले उक्त जलमार्ग हुँदै आवतजावत गर्ने अन्तर्राष्ट्रिय जहाजहरूलाई आफूहरूबाट कुनै खतरा नरहेको बताएका छन् । तर साउदी अरबका जहाजहरूलाई भने निरन्तर निशाना बनाउने उनीहरूको चेतावनी छ ।

    यस क्षेत्रमाथिको कब्जाले विश्व बजारमा तेलको मूल्यमा तीव्र वृद्धि गराएको छ । अमेरिका र इजरायलले इरानसँग सुरु गरेको युद्धका कारण होर्मुज जलडमरूमध्य प्रभावकारी रूपमा बन्द भएपछि साउदी अरबले तेल निर्यातका लागि लालसागरको मार्गमा निर्भर रहनुपरेको थियो ।

    पछिल्ला केही सातादेखि हुथी विद्रोहीहरूले अदन सहरमा पटक-पटक आक्रमण गर्दै आएका छन् । अक्टोबर १५ मा गरिएको एउटा आक्रमणमा राष्ट्रपति भवनलाई निशाना बनाइएको थियो । उक्त आक्रमणमा पाँच जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएका थिए ।

    त्यसको जवाफमा साउदी अरबले सयौं हवाई आक्रमण गरेको थियो । हुथी विद्रोहीहरूले पनि साउदी अरबका सहर तथा पूर्वाधारलाई निशाना बनाउँदै सयौं ड्रोन र क्षेप्यास्त्र प्रहार गरेका थिए । संयुक्त राष्ट्रसङ्घका अनुसार द्वन्द्व थप चर्किएपछि यमनमा झन्डै तीन लाख ३० हजार मानिस विस्थापित भएका छन् । यस क्रममा सयौं मानिस मारिएको खबर छ ।

    सन् २०१४ मा हुथी विद्रोहीहरूले राजधानी सानाबाट सरकारलाई हटाएपछि सुरु भएको गृहयुद्धले यमनलाई तहसनहस बनाएको छ । सरकारको सत्ता पुनःस्थापना गर्ने उद्देश्यले साउदी अरब नेतृत्वको अरब राष्ट्रहरूको गठबन्धनले सन् २०१५ मा सैन्य हस्तक्षेप गरेपछि द्वन्द्व थप चर्किएको थियो ।

    चार वर्षदेखि कायम अनौपचारिक युद्धविराम गत जुलाईदेखि भङ्ग हुन थालेको थियो । त्यस बेला हुथी विद्रोहीहरूले साउदी अरबविरुद्ध ‘सामुद्रिक नाकाबन्दी’ घोषणा गर्दै साउदी विमानस्थल, तेल प्रशोधन केन्द्र तथा लाल सागरमा रहेका तेलवाहक जहाजमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण सुरु गरेका थिए ।

    आफ्नो नियन्त्रणमा रहेका क्षेत्रका बन्दरगाह र विमानस्थलमा साउदी अरबले लगाएको नाकाबन्दी तथा सानाको विमानस्थलमा गरिएको हवाई आक्रमणको बदला लिन यस्तो कदम चालिएको हुथीहरूको भनाइ थियो । उक्त हवाई आक्रमणका लागि उनीहरूले साउदी अरबलाई दोष दिएका थिए ।

    हुथी विद्रोहीहरूले सेप्टेम्बरमा अप्रत्याशित सैन्य अभियानमार्फत जलडमरूमध्य आसपासका क्षेत्र कब्जा गरेपछि त्यसलाई पुनः नियन्त्रणमा लिन सुरु गरिएको केही सातादेखिको सैन्य अभियान पनि सेनाको पछिल्लो फिर्तीसँगै अन्त्य भएको छ । यस घटनाले विश्वव्यापी तेल निर्यातमा अवरोध सिर्जना गर्नुका साथै हजारौं मानिसलाई घर छाड्न बाध्य बनाएको थियो ।

    हुथी विद्रोहीद्वारा सञ्चालित सञ्चारमाध्यमले आइतबार ढिलो उक्त समूहले सो क्षेत्र आफ्नो नियन्त्रणमा लिएको समाचार सार्वजनिक गरेका छन् । यसबारे साउदी अरबले भने कुनै प्रतिक्रिया दिएको छैन ।

    यसअघि हुथी विद्रोहीहरूबाट महत्त्वपूर्ण भूभाग पुनः कब्जा गर्ने प्रयासस्वरूप सरकार समर्थक सेनाले अक्टोबरको सुरुवातमै बाब अल–मन्देब जलडमरूमध्य आफ्नो नियन्त्रणमा लिएको दाबी गरेका थिए ।

    हुथी विद्रोहीहरूले त्यसको एक महिनाअघि नै जलडमरूमध्यको मुखमा पर्ने पेरिस टापु र रणनीतिक महत्त्वको बन्दरगाह सहर मोखासहितका क्षेत्र कब्जा गरेको बताएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images