images
images
  • नेतान्याहुलाई आइसेनकोटको जवाफ- तिम्रो चालमा म फँस्ने छैन

    काठमाडौं– इजरायलका नेता गादी आइसेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुमाथि राष्ट्रिय एकताको सरकार गठनका नाममा राजनीतिक देखावटीको प्रयास गरेको आरोप लगाएका छन् ।

    सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै आइसेनकोटले नेतान्याहुले वार्ताका लागि गरेको आह्वान अर्को राजनीतिक चालमात्रै भएको बताएका हुन् ।

    उनका अनुसार येश अतीद र लिकुड पार्टीका वार्ता टोलीबीचको बैठक भोलिका लागि नै तय भइसकेको छ । यस्तो अवस्थामा नेतान्याहुले छुट्टै रूपमा एकताको कुरा गर्नुको कुनै अर्थ नभएको उनको भनाइ छ ।

    आइसेनकोटले नेतान्याहुमाथि राष्ट्रिय एकताको कुरा गरिरहँदा संसद्मा भइरहेको औपचारिक सरकारी प्रक्रियाकै अपमान गरेको आरोपसमेत लगाएका छन् ।

    उनले नेतान्याहुले देशमा विभाजन र उत्तेजना फैलाउने राजनीति गरिरहेको दाबी गरेका छन् ।

    आइसेनकोटले भनेका छन्, ‘प्रयास राम्रो हो, तर तिम्रो चालमा म फँस्ने छैन, मलाई प्रभावित पार्दैनन् । इजरायलका नागरिकलाई पनि यस्ता चालले प्रभाव पार्ने छैनन् ।’

    उनले नेतान्याहु आगामी निर्वाचनमा आफ्नो पराजय निश्चित रहेकोबारे जानकार रहेको दाबी गर्दै इजरायली नागरिक र संसद्मा उनीविरुद्ध स्पष्ट बहुमत रहेको बताएका छन् ।

    यसअघि प्रधानमन्त्री नेतान्याहुले आइसेनकोटसँग राष्ट्रिय एकताको सरकार गठन गर्न पुनः अपिल गरेका थिए ।

    सामाजिक सञ्जाल एक्समार्फत उनले इजरायलले सामना गरिरहेका सुरक्षा चुनौतीसँग जुध्न राष्ट्रिय एकताको सरकार आवश्यक रहेको बताएका थिए । उनका अनुसार इजरायलसामु रहेका चुनौतीमध्ये इरान सबैभन्दा ठूलो सुरक्षा खतरा हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images