images
images
  • ओकासियो-कोर्टेज को हुन् ? जसलाई डेमोक्रेटिक समाजवादीले अमेरिकी राष्ट्रपति उम्मेदवारमा प्रस्ताव गरेको छ

    काठमाडौं– अमेरिकाको डेमोक्रेटिक सोसलिस्ट्स अफ अमेरिका (डीएसए) को न्यूयोर्क सिटी शाखाले अमेरिकी सांसद एलेक्जान्ड्रिया ओकासियो-कोर्टेजलाई सन् २०२८ मा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिन आग्रह गर्ने प्रस्ताव पारित गरेको छ । यस कदमलाई आगामी राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीको राजनीतिक दिशा कता जाने भन्ने संकेतका रूपमा हेरिएको छ ।

    शनिबार सम्पन्न शाखाको सम्मेलनमा उक्त प्रस्तावको पक्षमा २९१ र विपक्षमा १२३ मत परेको थियो । यो निर्णय डीएसएको औपचारिक समर्थन भने होइन । तर यसले न्यूयोर्क सिटी शाखालाई ओकासियो-कोर्टेजको सम्भावित राष्ट्रपतीय उम्मेदवारीका लागि प्रोत्साहन गर्ने र त्यसको आधार तयार पार्ने जिम्मेवारी दिएको छ ।

    ‘अमेरिकाले डोनाल्ड ट्रम्पलाई निर्वाचित गर्न सक्छ भने डेमोक्रेटिक समाजवादीलाई पनि निर्वाचित गर्न सक्छ भन्ने मलाई लाग्छ’, डीएसएको न्यूयोर्क सिटी शाखाका सहअध्यक्ष गुस्ताभो गोर्डिल्लोले अलजजिरासँग भने ।

    अमेरिकाको मध्यावधि निर्वाचनमा डीएसए समर्थित उम्मेदवारहरूले उल्लेखनीय सफलता हासिल गरेपछि यो सम्मेलन आयोजना गरिएको हो । यसपटक डीएसएको समर्थनमा चुनाव लडेका कीर्तिमानी आठ जना उम्मेदवार संघीय संसद्मा निर्वाचित भएका छन् । उनीहरूले आगामी जनवरीदेखि अमेरिकी संसद्मा प्रतिनिधित्व गर्नेछन् ।

    १५ हजार सदस्य रहेको प्रभावशाली संगठन

    ओकासियो-कोर्टेज अमेरिकाको १४औं निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने डेमोक्रेटिक सांसद हुन् । उनी डीएसएको न्यूयोर्क सिटी शाखाकी लामो समयदेखिकी सदस्यसमेत हुन् । उनको गृह सहर समेट्ने यस शाखामा करिब १५ हजार सदस्य छन् । पछिल्लो समय यो शाखा अमेरिकी वामपन्थी तथा प्रगतिशील राजनीतिक आन्दोलनको प्रभावशाली संगठनका रूपमा स्थापित भएको छ ।

    यस शाखाले गत वर्ष मेयर जोहरान मम्दानीलाई समर्थन गरेको थियो । त्यस्तै सन् २०१८ यताका पाँचवटै प्रतिनिधिसभा निर्वाचनमा ओकासियो-कोर्टेजलाई समर्थन गर्दै आएको छ ।

    निर्वाचनमा हासिल गरेको प्रभावका कारण अमेरिकी प्रगतिशील राजनीतिको भावी दिशा निर्धारण गर्ने विषयमा पनि यस शाखाको आवाज महत्त्वपूर्ण मानिन थालेको छ ।

    ‘हामीले नगर प्रमुखलाई सिटी हलसम्म पुर्‍याएका छौं र सहरमा तीन जना समाजवादी निर्वाचित भएका छन् । त्यसैले कुनै राजनीतिज्ञ व्यक्तिगत रूपमा डीएसएप्रति जस्तोसुकै धारणा राखे पनि हामीले के भनिरहेका छौं र कसरी अघि बढिरहेका छौं भन्ने कुरालाई उनीहरूले गम्भीरतापूर्वक हेरिरहेका छन्’, शाखाकी सहअध्यक्ष ग्रेस माउसरले भनिन् ।

    उनले डीएसए न्यूयोर्क सहर, राज्य र समग्र अमेरिकाकै सबैभन्दा ठूला राजनीतिक शक्तिमध्ये एक बनेको दाबी गरिन् ।

    सन् २०१८ मा राष्ट्रिय राजनीतिमा उदाएकी ओकासियो-कोर्टेज

    Ocasio Cortez us

    ओकासियो-कोर्टेज सन् २०१८ मा एक दशकभन्दा बढी समयदेखि सांसद रहेका प्रतिस्पर्धीलाई पार्टीको आन्तरिक निर्वाचनमा पराजित गरेपछि राष्ट्रिय राजनीतिमा चर्चित बनेकी थिइन् ।

    डेमोक्रेटिक समाजवादी विचारधाराकी प्रमुख नेतृका रूपमा परिचित उनले सबै नागरिकका लागि स्वास्थ्य सेवा, सार्वजनिक विश्वविद्यालयमा निःशुल्क उच्च शिक्षा र श्रमिकको अधिकार संरक्षणलगायतका नीतिको वकालत गर्दै आएकी छन् ।

    डीएसएको न्यूयोर्क सिटी शाखाले भने अहिलेसम्म राष्ट्रपतीय निर्वाचनका लागि विस्तृत राष्ट्रिय नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिएको छैन । माउसरका अनुसार मतदातासँगको प्रत्यक्ष संवादबाट प्राप्त मुद्दाहरूलाई आधार बनाएर आगामी कार्यक्रम तयार गरिनेछ ।

    ‘मतदाताको घरदैलोमा पुग्दा सबैभन्दा बढी उठ्ने विषय आवास, स्वास्थ्य सेवा र बाल हेरचाह हुन् । यी सबै नागरिकको जीवनयापनसँग जोडिएका मुख्य विषय हुन् । संघीय तहको हाम्रो नीतिगत कार्यक्रम पनि यिनै विषयमा केन्द्रित हुनेछ’, उनले भनिन् ।

    आवास, आप्रवासन र प्यालेस्टाइन मुद्दा प्राथमिकतामा

    प्रस्तावमा ओकासियो–कोर्टेजको सम्भावित राष्ट्रपतीय अभियानले श्रमिक वर्गका मुद्दालाई समेट्ने नीति तथा कार्यक्रम निर्माण गर्ने अवसर प्रदान गर्ने उल्लेख छ ।

    त्यस्तै सार्वजनिक आवासको व्यवस्था, अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन निकाय (आईसीई) को गतिविधि रोक्ने प्रयास, श्रमिक संगठन निर्माण तथा युद्धविरोधी र प्यालेस्टाइन समर्थक आन्दोलनलाई पनि प्राथमिकताका रूपमा अघि सारिएको छ ।

    ओकासियो-कोर्टेजलाई सन् २०२८ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्न आग्रह गर्ने प्रयास पछिल्लो समय अमेरिकी वामपन्थी वृत्तमा बढ्दै गएको छ । डीएसएको राष्ट्रिय तहमा उनको सम्भावित उम्मेदवारीलाई समर्थन गर्ने विषयमा बहस भइरहेका बेला ‘रेडी फर एओसी’ नामक स्वतन्त्र अभियानसमेत सुरु भएको छ ।

    राष्ट्रपतीय निर्वाचन वा सिनेटको प्रतिस्पर्धा ?

    ओकासियो-कोर्टेजले यसअघि मध्यावधि निर्वाचनपछि आफ्नो राजनीतिक भविष्यबारे निर्णय गर्ने बताएकी थिइन् । त्यसैले सन् २०२८ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने वा अमेरिकी सिनेटको निर्वाचनमा प्रतिस्पर्धा गर्ने भन्ने सम्भावना अझै खुला छ ।

    उनले अहिलेसम्म आफ्नो आगामी राजनीतिक यात्राबारे अन्तिम निर्णय सार्वजनिक गरेकी छैनन् । यद्यपि न्यूयोर्कको डीएसए शाखाको पछिल्लो निर्णयले उनलाई राष्ट्रपतीय प्रतिस्पर्धामा उतार्न अमेरिकी प्रगतिशील राजनीतिक वृत्तमा दबाब र समर्थन दुवै बढ्दै गएको संकेत गरेको छ ।

    -अलजजिरा

    प्रतिक्रिया दिनुहोस्
    images
    images