images
images
  • इरानमा यात्रुवाहक बस दुर्घटना : मृतकको सङ्ख्या १० पुग्यो, १८ जना घाइते

    काठमाडौं– इरानको पश्चिमी प्रान्त इलाममा शनिबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ भने १८ जना घाइते भएका छन् ।

    अर्धसरकारी समाचार संस्था फार्सका अनुसार शनिबार स्थानीय समयअनुसार साँझ ७ः२५ बजे देहलोरान जिल्लाको दश्त-ए अब्बासबाट अब्दानान जिल्लाको मुर्मुरीतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको थियो । बसमा देहलोरानस्थित एक पेट्रोलियम प्रशोधन कम्पनीका कर्मचारी सवार थिए ।

    इलाम चिकित्सा विज्ञान विश्वविद्यालयको आपत्कालीन चिकित्सा सेवा विभागका प्रमुख मेहदी शाबानीका अनुसार दुर्घटनाको खबर प्राप्त हुनासाथ उद्धार टोली, १० वटा एम्बुलेन्स र एउटा एम्बुलेन्स बस घटनास्थलमा परिचालन गरिएको थियो ।

    दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि इलाम तथा छिमेकी खुजेस्तान प्रान्तका अस्पतालमा लगिएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन् ।

    दुर्घटनाको कारणबारे सम्बन्धित सरकारी निकायले अनुसन्धान गरिरहेको र विस्तृत विवरण पछि सार्वजनिक गरिने फार्सले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images