images
images
  • फिर्ता हुने भयो पिसारोको बहुमूल्य चित्र

    काठमाडौं – फ्रान्सको एक अदालतले प्रसिद्ध चित्रकार क्यामिल पिसारोको एउटा चित्रकला लिलामी प्रक्रिया रद्द गरेको छ । साथै, सो कलाकृतिका मूल यहुदी मालिकका सन्तानलाई चित्र फिर्ता दिलाउन सहयोग गर्न आदेश दिइएको छ । ‘डार्स दे पेच ए, बासिन डुकेन, डिएप र आप्रेमिदी सोलेय’ शीर्षकका ती चित्र सन् २०२४ मा लन्डनस्थित सोथबीजको शाखामार्फत लिलामी हुँदा १२ लाख पाउन्ड (करिब १६ लाख अमेरिकी डलर) मा बिक्री भएको अदालतको फैसलामा उल्लेख छ । सो चित्र एक अज्ञात खरिदकर्ताले किनेका थिए ।

    फ्रान्सेली र रोमानियाली मूलका यहुदी बैंकर सालोमन फ्लाभियनले सन् १९३५ मा चित्र किनेका थिए । त्यसैले सोथबीजको वेबसाइटमा राखिएको चित्रको बिक्री विवरणमा यसको स्वामित्व इतिहास अन्तर्गत फ्लाभियनको नाम उल्लेख गरिएको अदालतले जनाएको छ ।

    दोस्रो विश्वयुद्धका बेला चित्र लुटिएको थियो भन्नेबारे बिक्री विवरणमा खासै जानकारी दिइएको थिएन । तथापि, विवरणमा एउटा वाक्य भने राखिएको थियो, यसमा भनिएको थियो, ‘हालका मालिक र सालोमन फ्लाभियनका उत्तराधिकारीबिच भएको सम्झौताअनुसार यो कलाकृति बिक्रीका लागि प्रस्तुत गरिएको हो । ’ अदालतको फैसलासम्बन्धी पृष्ठभूमि विवरणअनुसार, फ्लाभियनका दुई सन्तानले सन् २०२४ मा चित्रका विक्रेतासँग सम्झौता गरेका थिए । उनका अन्य सन्तानले आफूहरू सम्झौतामा सहभागी नभएको भन्दै बिक्रीविरुद्ध मुद्दा दायर गरेका थिए ।

    गत साता फ्रान्सको अदालतले ती सन्तानको पक्षमा फैसला सुनाएको हो । अदालतको फैसलाअनुसार, फ्लाभियनले सन् १९०२ मा बनाइएको सा ल्यान्डस्केप चित्र सन् १९३५ मा किनेका थिए । सन् १९३९ सेप्टेम्बरमा दोस्रो विश्वयुद्ध सुरु भएपछि उनले उक्त चित्रसहित दर्जनौँ अन्य कलाकृति पेरिसस्थित वेस्टमिन्स्टर फरेन बैङ्कमा बाकसमा राखेर सुरक्षित भण्डारण गर्ने व्यवस्था मिलाएका थिए ।

    तर सन् १९४१ मा नाजीहरूले ती बाकसहरू कब्जा गरेका थिए । त्यसमध्ये पिसारोको चित्र पनि थियो । फैसलाअनुसार, युद्धपछि जीवित रहेका फ्लाभियनले लुटिएका आफ्ना केही कलाकृति फिर्ता पाए । पिसारोको चित्रलगायत केही कलाकृति भने परिवारलाई कहिल्यै फिर्ता गरिएनन् ।

    नोभेम्बर ५ मा फैसला सुनाउँदै पेरिस न्यायिक अदालतले बिक्री रद्द गरेको हो साथै, चित्र परिवारलाई फिर्ता गराउने प्रक्रिया अघि बढाउन दुई महिनाभित्र ‘चित्र खरिद गर्ने व्यक्तिको पूर्ण पहिचान सार्वजनिक गर्न’ सोथबीजलाई आदेश दिएको छ । यदि सोथबीजले दुई महिनाभित्र खरिदकर्ताको पहिचान सार्वजनिक नगरेमा त्यसपछि ढिलाइ भएको प्रत्येक दिनका लागि एक हजार युरो (करिब १ हजार ११५ अमेरिकी डलर) जरिवाना तिर्नुपर्ने अदालतले जनाएको छ । अदालतले नाजीहरूले लुटेका कलाकृति फिर्ता गराउन विशेषज्ञता राख्ने टोरन्टोस्थित मोन्डेक्स कर्पोरेसनविरुद्ध पनि फैसला सुनाएको छ ।

    अदालतको फैसलासम्बन्धी पृष्ठभूमि विवरणअनुसार, चित्रका विक्रेता र फ्लाभियनका दुई सन्तानबिच भएको सम्झौतामा मोन्डेक्सले सहयोग गरेको थियो । सोथबीज, विक्रेता र आफूले प्रतिनिधित्व गरेका फ्लाभियनका दुई सन्तानबिच भएको सम्झौतामा भूमिका खेलेको भन्दै अदालतले मोन्डेक्सलाई दोषी ठहर गरेको हो । अदालतले फ्लाभियनका सन्तानलाई १० हजार युरो (करिब ११ हजार अमेरिकी डलर) क्षतिपूर्ति तिर्न पनि आदेश दिएको छ ।

    मोन्डेक्स कर्पोरेसनले उक्त चित्र लुटिएको नभएको दाबी गर्दै आएको छ । उसका अनुसार बेलायती कला सङ्कलक एडवर्ड ले बास सन् १९३९ देखि सन् १९५० को दशकको सुरुवातसम्म उक्त चित्रका मालिक थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images