काठमाडौं – नेपाल घुम्न आउने पर्यटकको बिमा रकम हत्याउन उद्धारका नाममा भएको अर्बौंको ठगीमा संलग्न व्यक्तिहरुउपर सम्पत्ति शुद्धीकरणको अनुसन्धान सुस्त भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले ८ महिना वितिसक्दा पनि यसमा अनुसन्धान सकिसकेको छैन । यसमा पहुँचवाला व्यवसायी भएकाले दबाबका कारण अनुसन्धान प्रभावित भएको आँकलन गरिएको छ । सीआइबीले पहिलो चरणको अनुसन्धान टुंग्याएर गत वर्ष ८ चैतमा ३३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । त्यतिवेला मुद्दा दायर गरिएका ३३ जनाकै सम्पत्तिमाथि पनि छानबिन गर्ने निर्णय सीआइबीले बैशाखमा गरेको थियो ।
सबैको सम्पत्तिको विवरण एक महिनामै संकलन भइसकेको थियो । तर, सीआईबीमा उमाप्रसाद चतुर्वेदी आएपछि फेक रेस्क्युको अनुसन्धान सुस्त बनेको छ । उनको जागिरको अवधि दुई महिना पनि बाँकी छैन । फेक रेस्क्युमा संलग्न व्यक्तिहरुको सम्पत्ति छानविमा बयान लगायत थप काम हुन सकेको छैन । कतिपयले त छानबिन सुरु भएपछि पनि सम्पत्ति बेचेको स्रोत बताउँछ । पहिलो चरणमा भएको अनुसन्धानमा एक अर्ब ५१ करोड रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको थियो । ११ जनालाई पक्राउ गरेर मुद्दा दायर गरिएकोमा उनीहरू धरौटीमा छुटिसकेका छन् ।
पक्राउ परेका माउन्टेन रेस्क्यु सर्भिस प्रालिका मालिक जयराम रिमाल र म्यानेजर विवेक पाण्डे, नेपाल चार्टर सर्भिस प्रालिका मालिक रवीन्द्र अधिकारी र म्यानेजर विवेकराज थपलिया, एभरेस्ट इक्सपेरियन्स एन्ड असिस्टेन्स प्रालिका मालिकद्वय मुक्ति पाण्डे र सुभाष केसी पक्राउ परेका थिए । त्यसैगरी, श्रीद्धि इन्टरनेसनल अस्पतालका सञ्चालक डा. गीर्वाणराज तिमिल्सिना र प्यानरोमा हिमालय ट्रेकिङ एन्ड एक्पेडिसनका सञ्चालक पासाङ शेर्पा, रोयल होलिडेज एड्भेन्चर्सका सन्दीप तिवारी र नेपाल चार्टर सर्भिसका पूर्वसञ्चालक खोमराज अधिकारी पनि पक्राउ परेका थिए ।
सुरुमा सरकारी वकिल कार्यालयले हवाई सुरक्षाविज्ञ बताउने राजेन्द्रबहादुर सिंहविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो । पछि महान्यायाधिवक्ता कार्यालयको निर्णयका आधारमा सिंहविरुद्ध पनि मुद्दा दायर भइसकेको छ । उनीहरूविरुद्ध संगठित अपराध, राष्ट्रहितविरुद्धको कसुर, आपराधिक लाभ र लिखतसम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो । फरार बनाएर मुद्दा दायर भएका कतिपय अदालतमा उपस्थित भएर धरौटीमा छुटिसकेका छन् ।
फरार बनाएर मुद्दा दायर गरिएकाहरूमा विवेकराज थपलिया, डा. मिनल्मा पाण्डे, श्यामसुन्दर कँडेल, सन्दीप ढुंगाना, शान्तकुमार बानियाँ, विनोद सापकोटा, जीवन पाण्डे, भानु ढकाल, फुर्वाछिरिङ शेर्पा छन् । त्यसैगरी, ममिता भट्ट, चुङ्ला शेर्पा, तेन्जिङ शेर्पा, पासाङ दाबा शेर्पा, बद्री लम्साल, कवीन्द्र लम्साल, सन्दीप भण्डारी, प्रकाशबाबु दाहाल, चन्द्र प्याकुरेल, कुमार भण्डारी, गणेश सिलवाल, श्रीराम केसी र रामकुमार फुयाँल छन् ।
उनीहरुमध्ये कतिपय सत्तारुढ दल रास्वपा निकट छन् । चुङ्ला रास्वपा नेता मिङमा शेर्पाकी श्रीमती हुन् । उनीहरुको एरा अस्पतालका सञ्चालक हुन् । सोही अस्पतालमा नक्कली बिल बनाएर बिमाको रकम ठगी हुने गरेको थियो । त्यस्तै, मुक्ति पाण्डे पनि रास्वपामै आबद्ध छन् । गोरखा घर भएका उनी सुदन गुरुङको चुनाव प्रचार टोलीका मुख्य व्यक्ति थिए । अरु प्रभावशाली व्यक्तिहरु पनि रहेका कारण अनुसन्धानमा ढिलाई भएको सीआइबी स्रोत बताउँछ ।






















