काठमाडौं – क्षेत्रीय कारागार भीमफेदीका ५१ जना कैदीबन्दीले यस वर्ष पहिलोपटक कारागारभित्रै छठ पर्व मनाउने भएका छन् । विभिन्न मुद्दामा कैद सजाय भोगिरहेका तथा पुर्पक्षका लागि थुनामा रहेका एक महिलासहित ५१ जना कैदीबन्दी छठ पर्वको तयारीमा जुटेका हुन् ।
कारागारका तीनवटा ब्लकमध्ये ‘क’ ब्लकका ३२ जना, ‘ख’ ब्लकका १८ जना र महिला ब्लककी एक महिलाले छठ मनाउने तयारी गरेको जेलर पुष्कर रानाले जानकारी दिए । उनका अनुसार पर्व मनाउन आवश्यक सामग्रीको व्यवस्था कारागार प्रशासनले मिलाएको छ ।
कैदीबन्दीको धार्मिक आस्थाको सम्मान गर्दै कारागारभित्रै छठ मनाउने प्रबन्ध गरिएको जेलर रानाले बताए । उनीहरूलाई आ–आफ्नो ब्लकमा छुट्टाछुट्टै रूपमा पर्व मनाउने व्यवस्था मिलाइएको छ । कैदीबन्दीले शान्तिपूर्ण र श्रद्धापूर्वक पर्व मनाउन सकून् भनेर प्रशासनले आवश्यक सहयोग गरेको उनले बताए ।
यद्यपि, छठ पर्व मनाउनका लागि सरकारले कैदीबन्दीलाई छुट्टै आर्थिक सुविधा उपलब्ध गराएको छैन । कारागार प्रशासनले आवश्यक सामग्रीको व्यवस्था मिलाएपछि कैदीबन्दीले कारागारभित्रै आफ्नो धार्मिक आस्था र परम्परालाई निरन्तरता दिन पाउने भएका छन् ।
भीमफेदी कारागारमा हाल ५५ जना महिला र पुरुषका दुईवटा ब्लकमा ९३५ जना कैदीबन्दी छन् । तीमध्ये तराई–मधेश क्षेत्रका करिब दुई सयभन्दा बढी कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ ।






















