काठमाडौँ-प्रमुख विपक्षी नेकपा एमाले २४ वर्षपछि फेरि विभाजित भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल ‘नेकपा एमाले समाजवादी’ बनाउने निर्णय गरेका हुन् ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मात्र संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी थिइन् । लगतै नेपाल समूह ‘नेकपा एमाले समाजवादी’ दर्ताका लागि निर्वाचन आयोगतर्फ लागेका छन् । नेपाल पक्षका नेता तथा सांसद मेटमणि चौधरीका अनुसार ‘नेकपा एमाले समाजवादी’को संयोजकमा नेता नेपाल छन् भने ९५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । चुनाव चिन्हमा खुला किताब प्रस्ताव गरिएको छ ।
प्रमुख विपक्षी दल एमाले २४ वर्षपछि दोस्रोपटक औपचारिक विभाजन भएको छ । अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको टकरावले एमाले ०५४ पछि दोस्रोपटक विभाजनको सँघारमा पुगेको हो । सर्वोच्च अदालतले नेकपा बदर गर्ने निर्णय सुनाएपछि ब्युँतिएको एमालेमा त्यसयता शीर्ष नेताबीच राजनीतिक एवं सांगठनिक मुद्दामा विवाद थियो ।


विश्व खबर 


















