images
images
  • सात समस्याग्रस्त सहकारीका १२२ बचतकर्ताले पाए रकम फिर्ता

    काठमाडौं – समस्याग्रस्त सात सहकारीका १२२ बचतकर्ताले बचत रकम फिर्ता पाएका छन् । तीमध्ये २३ जनाले पूर्ण र ९९ जनाले आंशिक रकम फिर्ता पाएका हुन् ।

    समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार नेपाल सहकारी वित्तीय सहकारी, आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी र शिवशिखर सहकारीले २३ जना बचतकर्ताको सम्पूर्ण बचत रकम फिर्ता गरेका छन् ।

    त्यस्तै, कान्तिपुर सहकारी, गौतमश्री बहुउद्देश्यीय सहकारी, कृषि विकास बहुउद्देश्यीय सहकारी र श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीले ९९ जना बचतकर्तालाई आंशिक रकम फिर्ता गरेका छन् ।

    भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको सचिवालयका अनुसार सरकारले समस्याग्रस्त सहकारीबाट ऋण असुली गरी प्राप्त भएको रकम नै बचतकर्तालाई फिर्ता गरेको हो ।

    समितिले पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गरेको जनाएको छ। आगामी दिनमा पनि बचत रकमका आधारमा बचतकर्ताको वर्गीकरण गरी भुक्तानी प्रक्रिया अघि बढाइने जानकारी दिइएको छ ।

    समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापन गरी प्राप्त रकम सम्बन्धित सहकारीका बचतकर्तालाई प्रचलित कानुनी व्यवस्थाअनुसार फिर्ता गर्ने कार्य निरन्तर भइरहेको समितिले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images