images
images
  • बाढीपछि सुनसान बनेका लाङटाङ र गोसाइँकुण्डमा पर्यटकको चहलपहल बढ्दै

    काठमाडौं – भोटेकोशी बाढीका कारण लामो समय सुनसान बनेका रसुवाका प्रमुख पर्यटकीय गन्तव्य लाङटाङ र धार्मिक क्षेत्र गोसाइँकुण्डमा पर्यटकको चहलपहल बढ्न थालेको छ ।

    गत भदौ १० गते आएको बाढीका कारण करिब दुई महिनासम्म सडक तथा पदमार्ग अवरुद्ध हुँदा पर्यटन गतिविधि ठप्पजस्तै बनेको थियो । पछिल्लो समय सडक र पदमार्गको सुधार तथा आवागमन सहज भएसँगै यी क्षेत्रमा पर्यटन गतिविधि पुनः चलायमान हुन थालेको हो ।

    लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार बाढीले दुई महिनासम्म पर्यटकीय गतिविधि प्रभावित बनाएको थियो । वेत्रावतीमा बेलिब्रिज निर्माण गरी सडक सञ्जाल पुनः जोडिएपछि पर्यटकको आगमन विस्तारै बढ्न थालेको उनले बताए ।

    पर्यटन तथा होटल व्यवसायी सङ्घ रसुवाका अध्यक्ष विशाल घलेका अनुसार अहिले लाङटाङ र गोसाइँकुण्ड क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन उत्साहजनक रूपमा सुरु भएको छ । बाढीका कारण केही समय सडक र पदमार्गमा अवरोध भए पनि अहिले मार्ग सहज बनाइएकाले पर्यटक निर्धक्क भएर गन्तव्यतर्फ जान थालेका छन् ।

    गोसाइँकुण्ड जाने मार्गमा होटल सञ्चालन गर्दै आएका व्यवसायी पासाङ ध्युमीले बाटो खुलेपछि पर्यटकको चहलपहल बढेको बताए । धार्मिक तथा प्राकृतिक महत्त्व बोकेको गोसाइँकुण्डमा पर्यटक आउन थालेपछि स्थानीय व्यवसायीमा पनि आशा जागेको उनको भनाइ छ ।

    लाङटाङ भ्रमणमा पुगेका पर्यटकले पनि अपेक्षा गरेभन्दा सहज र सुरक्षित यात्रा गर्न पाएको प्रतिक्रिया दिएका छन् । नुवाकोटको नर्जाकी शारदा खनाल र उनका छोराले बाढीका कारण बाटो अप्ठ्यारो होला भन्ने डर भए पनि यात्रा सहज भएको बताए । उनीहरूले भने, “बाढीका कारण बाटो अप्ठ्यारो होला कि भन्ने डर थियो, तर बाटो सहजै रहेछ । हामीले ढुक्कसँग प्रकृतिसँग रमाएर यात्रा पूरा गर्‍यौँ।”

    लाङटाङका स्थानीय होटल व्यवसायी निमा लामाले पनि लामो समयपछि पर्यटक आउन थालेकामा खुसी व्यक्त गरे । पर्यटकको आगमन बढ्दै गएकाले आगामी दिनमा होटल व्यवसायसमेत चलायमान हुने उनको विश्वास छ ।

    शरद ऋतुको पर्यटकीय याम सुरु हुनु र मौसममा सुधार आउनुले पनि रसुवाका पर्यटकीय क्षेत्रमा पर्यटकको आगमन बढाएको छ । मानव बस्ती नजिकै रहेको हिमनदी तथा लाङटाङको क्याङजेन क्षेत्रका मनोरम दृश्यले पर्यटकलाई आकर्षित गरिरहेका छन् ।

    पर्यटकको चहलपहल बढ्न थालेपछि स्थानीय व्यवसायीमा नयाँ उत्साह थपिएको पर्यटन व्यवसायी डिण्डुप तामाङले बताए । पछिल्लो समय लाङटाङ र गोसाइँकुण्डको पदयात्रा युवा पुस्तामाझ पनि आकर्षणको केन्द्र बन्दै गएको छ ।

    सङ्घका अनुसार हाल दैनिक रूपमा आन्तरिक तथा बाह्य पर्यटक गोसाइँकुण्ड र लाङटाङ पुग्ने क्रम बढिरहेको छ । क्याङजिन क्षेत्रका होटल व्यवसायी ग्याल्बु तामाङले केही समय सुस्ताएको पदमार्ग सुरक्षित र सहज बनेसँगै रसुवाको पर्यटन उद्योगले पुनः गति लिन थालेको बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images