images
images
  • मनाङमा भारतीय पर्यटकको आकर्षण बढ्दो

    काठमाडौं – अन्नपूर्ण पदमार्ग तथा मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दै गएको छ । सन् २०२६ को अक्टोबरसम्म पाँच हजार ४९ भारतीय पर्यटकले मनाङ भ्रमण गरेका छन् ।

    अन्नपूर्ण संरक्षण आयोजना एकाइ मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार अक्टोबरसम्म कुल ३० हजार ६६२ विदेशी पर्यटक मनाङ पुगेका छन् । तीमध्ये १९ हजार १४० पुरुष, ११ हजार ५१२ महिला र १० जना अन्य पर्यटक रहेका छन् ।

    आयोजनाको तथ्यांकअनुसार मनाङ भ्रमण गर्ने पर्यटकमध्ये भारतीयको संख्या सबैभन्दा बढी छ । त्यसपछि इजरायलका दुई हजार ७६८, जर्मनीका एक हजार ९४८, चीनका एक हजार ८९९ र फ्रान्सका एक हजार ३४ पर्यटक रहेका छन् ।

    प्रमुख भुजेलका अनुसार अक्टोबरसम्म ११९ देशका नागरिकले मनाङका विभिन्न स्थानको भ्रमण गरेका छन् । सार्क राष्ट्रबाट पाँच हजार ९० र अन्य देशबाट २५ हजार ५७२ पर्यटक मनाङ पुगेका हुन् ।

    अर्नब चक्रवातको प्रभावका कारण हिमाली क्षेत्रमा हिमपात भएको अवस्थामा पनि पर्यटकको आगमन उल्लेख्य रहेको भुजेलले बताए । जोखिमपूर्ण मौसमका बाबजुद पर्यटक मनाङको प्राकृतिक तथा सांस्कृतिक सुन्दरता अवलोकन गर्न आएको र मौसमको जोखिम कम भएपछि अहिले गन्तव्यतर्फ पुगिसकेको उनको भनाइ छ ।

    अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङ र मुस्ताङको सिमानामा पर्ने थोराङ्ला भञ्ज्याङ, विश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताल तथा हिमलुङ र मनास्लु हिमाल आरोहणका लागि पर्यटक मनाङ पुग्ने गर्छन् । हिमाली तथा पहाडी दृश्यसँगै स्थानीय बासिन्दाको संस्कार, संस्कृति र रीतिरिवाजले पनि पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।

    विश्वका जोखिमयुक्त पदमार्गमध्ये एक मानिने अन्नपूर्ण पदमार्ग हुँदै पर्यटक मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा पुग्ने गर्छन् । यस पदमार्गले लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच जिल्लालाई जोडेको छ ।

    अन्नपूर्ण पदमार्गको प्रवेशद्वारका रूपमा रहेको लमजुङको बेँसीसहर नगरपालिका–७ स्थित मनाङ्गे चौताराबाट पर्यटकले यात्रा सुरु गर्छन् । काठमाडौं हुँदै सवारीसाधनमा बेँसीसहर पुग्ने पर्यटक पछिल्लो समय चामे र खाङ्सारसम्मै सवारीसाधनमा पुग्ने गरेका छन् । त्यसपछि मात्रै उनीहरूको पदयात्रा सुरु हुने गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images