काठमाडौं – अनलाइन बस टिकट प्लेटफर्म बससेवाले तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सबै रुटमा अग्रिम टिकट बुकिङ खुला गरेको छ ।
बससेवाले बुधबारदेखि लागू हुने गरी अग्रिम टिकट बुकिङ खुलाएको जनाएको हो । पर्वका बेला टिकट काट्न लामो लाइनमा बस्नुपर्ने अवस्थालाई सहज बनाउन ‘लाइन होइन, अनलाइन रोजौँ’ भन्ने नारासहित बुकिङ सेवा सुरु गरिएको कम्पनीले जनाएको छ ।
अग्रिम टिकट बुकिङ गर्ने यात्रुले प्रतिटिकट १०० रुपैयाँ छुट पाउनेछन्। बससेवाका असिस्टेन्ट म्यानेजर दीपक बिकेका अनुसार तिहारका लागि र छठका लागि प्रोमो कोड प्रयोग गरी टिकट काट्दा छुट प्राप्त गर्न सकिनेछ ।
यात्रुको सुरक्षालाई ध्यानमा राख्दै बससेवाले वैकल्पिक यात्रा बीमाको सुविधा पनि उपलब्ध गराएको जनाएको छ। टिकट बुकिङसँगै यात्रुले आफ्नो आवश्यकताअनुसार एक लाख, तीन लाख र पाँच लाख रुपैयाँसम्मको बीमा सुविधा छनोट गर्न सक्नेछन् ।
बससेवा नेपालका अग्रणी अनलाइन बस टिकट प्लेटफर्ममध्ये एक हो। कम्पनीले एक दशकभन्दा बढी समयदेखि नेपालका ७० भन्दा बढी जिल्लामा सञ्चालन हुने बसहरूको टिकट अनलाइनमार्फत उपलब्ध गराउँदै आएको जनाएको छ ।





















