काठमाडौं– डेमोक्रेट पार्टीले सिनेट र हाउस अफ रिप्रेजेन्टेटिभ जितेपछि अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले जनता विभाजन होइन, एकता चाहन्छन् भन्ने पुष्टि भएको बताएका छन् ।
केहीबेरअघि सामाजिक सञ्जालमार्फत ओबामाले मध्यावधि चुनावमा अमेरिकी जनताले ‘मानिसहरूलाई विभाजित गर्नुको सट्टा एकताबद्ध गरोस् र यस्ता नेताहरू चाहन्छन्, जसले उनीहरूले सामना गरिरहेका चुनौतीहरूका लागि ठोस समाधान प्रस्तुत गर्न सकून्’ भन्ने स्पष्ट सन्देश दिएको उल्लेख गरेका छन् ।
‘यो नतिजा तब मात्र सम्भव भयो जब देशका हरेक क्षेत्रमा- पहिले जित्ने सम्भावना निकै कम मानिएका ठाउँहरूमा समेत उत्कृष्ट उम्मेदवारहरू अघि सरे । उनीहरू विभिन्न पृष्ठभूमिबाट आएका थिए र उनीहरूका राजनीतिक दृष्टिकोणहरू पनि फरक–फरक थिए । तर उनीहरू साझा मूल्य–मान्यता, जनसेवाप्रतिको विश्वास र आफ्ना निर्वाचन क्षेत्र तथा राज्यका जनतालाई प्राथमिकतामा राख्ने प्रतिबद्धताका साथ एकताबद्ध थिए’, ओबामाले भनेका छन् ।
यद्यपि वर्तमान प्रशासनको कार्यकाल अझै दुई वर्ष बाँकी रहेको भन्दै उनले अब आफ्नो काम जहाँसम्म अधिकार पुग्छ, त्यहाँ आवश्यक परिवर्तन गर्नु, थप क्षति हुनबाट रोक्नु र भविष्यका लागि बलियो आधार तयार पार्नु रहेको उल्लेख गरेका छन् ।
मंगलबार भएको मध्यावधि निर्वाचनमा डेमोक्रेटले सिनेटमा ५६ स्थान र हाउस अफ रिप्रेजेन्टेटिभमा २६० सिट जित्ने प्रक्षेपण गरिएको छ । सिनेटमा डेमोक्रेटले ५१ सिट जितिसकेको छ ।





















