images
images
  • दुई दिने भ्रमणका लागि भारतीय विदेश सचिव विक्रम मिस्री काठमाडौंमा

    काठमाडौं – भारतीय विदेश सचिव विक्रम मिस्री दुई दिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आइपुगेका छन् । नेपालका परराष्ट्र सचिव अमृतबहादुर रायको निमन्त्रणामा उनी नोभेम्बर ४ र ५ गते नेपालमा रहनेछन् ।

    परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा नेपाल र भारतका परराष्ट्र सचिवबीच द्विपक्षीय वार्ता हुनेछ । वार्तामा दुई देशबीचको समग्र सम्बन्धको समीक्षा गर्नुका साथै आपसी हितका विषयमा विचार आदानप्रदान गरिनेछ ।

    मिस्रीले नेपालमा रहँदा उच्चस्तरीय नेपाली अधिकारी तथा राजनीतिक नेतृत्वसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रमसमेत रहेको छ। उनी नोभेम्बर ५ मा नयाँदिल्ली फर्किनेछन् ।

    मिस्रीको भ्रमणलाई प्रधानमन्त्री बालेन्द्र शाहको सम्भावित भारत भ्रमणको तयारीसँग पनि जोडेर हेरिएको छ । प्रधानमन्त्री शाह नोभेम्बरको दोस्रो सातापछि भारत भ्रमणमा जाने तयारी भइरहेको र त्यसको कार्यसूची तथा प्राथमिकताबारे दुई देशबीच छलफल हुन सक्ने समाचार सार्वजनिक भएका छन् । यद्यपि, प्रधानमन्त्रीको भारत भ्रमणको मिति औपचारिक रूपमा घोषणा भइसकेको छैन ।

    यसअघि पनि भारतले मिस्रीलाई नेपाल पठाउने तयारी गरेको थियो। तर, मे महिनाका लागि प्रस्तावित भ्रमण स्थगित भएको थियो । त्यसबेला कूटनीतिक प्रोटोकल र दुई देशबीचका केही असमझदारीलाई भ्रमण स्थगित हुनुको कारणका रूपमा विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका थिए ।

    नेपाल र भारतबीच पछिल्लो समय उच्चस्तरीय कूटनीतिक संवादलाई निरन्तरता दिने प्रयास भइरहेको छ। व्यापार, ऊर्जा, पूर्वाधार, पारवहन, सीमा व्यवस्थापन र विकास साझेदारीलगायतका विषय दुई देशबीचको सम्बन्धका महत्त्वपूर्ण एजेन्डा रहँदै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images