images
images
  • विदेशमा सिकेको सीप गाउँमै प्रयोग, च्याउखेतीबाट आत्मनिर्भर बन्दै अन्तराम

    काठमाडौं – वैदेशिक रोजगारीबाट फर्किएपछि फेरि रोजगारीको खोजीमा भौँतारिने युवाका लागि डडेल्धुराका अन्तराम जोशी उदाहरण बनेका छन्। विदेश जाने क्रममा सिकेको सीप र काठमाडौंमा हासिल गरेको व्यावहारिक अनुभवलाई गाउँमै प्रयोग गरेर उनी व्यावसायिक च्याउखेतीमार्फत आत्मनिर्भर बन्न सफल भएका छन् ।

    गन्यापधुरा गाउँपालिका–१ रुवाखोला (असिग्राम)का जोशी अहिले आफ्नै गाउँमा सिताके र कन्या च्याउको व्यावसायिक खेती गरिरहेका छन् । उनले २०७७ सालदेखि परालमा कन्या च्याउ उत्पादन सुरु गरेका थिए। त्यसपछि काठका मुडामा सिताके च्याउखेती विस्तार गर्दै लगेका हुन् ।

    जोशीको फार्ममा उत्पादित सिताके च्याउ प्रतिकिलो ८०० रुपैयाँमा बिक्री भइरहेको छ । कन्या च्याउको मूल्य भने बजारमा हुने उत्पादन र मागअनुसार फरक पर्ने गरेको उनले बताए । तराईका जिल्लामा च्याउको उत्पादन कम हुँदा प्रतिकिलो २०० रुपैयाँभन्दा बढी मूल्य पाउने गरेको र उत्पादन बढ्दा १५० रुपैयाँसम्ममा बिक्री गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

    परिवारको जीविकोपार्जनका लागि जोशी २०६९ सालमा वैदेशिक रोजगारीमा मलेसिया पुगेका थिए । त्यहाँ तीन वर्ष काम गरेर फर्किएपछि थप आम्दानीको खोजीमा उनले युरोप जाने प्रयास गरे । यसक्रममा काठमाडौंका विभिन्न म्यानपावर कम्पनी धाउने क्रममा च्याउखेती गर्ने फार्ममा काम गर्ने अवसर पाए ।

    काठमाडौंका च्याउ फार्ममा करिब पाँच वर्ष काम गर्दा उनले च्याउ उत्पादनसम्बन्धी व्यावहारिक ज्ञान र सीप हासिल गरे । युरोप जाने प्रयास सफल नभएपछि सिकेको सीप आफ्नै गाउँमा प्रयोग गर्ने सोच बनाएर उनी डडेल्धुरा फर्किए र च्याउखेती सुरु गरे ।

    काठमाडौंमा प्रतिकिलो एक हजार ५०० रुपैयाँसम्म बिक्री हुने सिताके च्याउ गाउँमै उत्पादन गर्न सकिन्छ कि सकिँदैन भन्ने उनलाई सुरुमा शङ्का थियो । स्थानीय बजारमा यसको माग र उपभोक्ताको रुचिबारे पनि उनी निश्चित थिएनन् । त्यसैले परीक्षणका रूपमा ५० वटा काठका मुडामा सिताके च्याउको बीउ राखेर खेती सुरु गरे। त्यससँगै कन्या च्याउ उत्पादनलाई पनि निरन्तरता दिए ।

    करिब नौ महिनापछि काठका मुडामा सिताके च्याउ फल्न थालेपछि उनले डडेल्धुरा बजारमा बिक्री गर्न सुरु गरे। स्थानीय उपभोक्ताले च्याउ रुचाउन थालेपछि माग पनि बढ्दै गएको उनले बताए । “स्थानीय उपभोक्ताले च्याउ मन पराउन थालेपछि मागसमेत बढ्दै गयो । त्यसपछि दोस्रो वर्षदेखि खेती विस्तार गरी करिब ६०० वटा काठका मुडामा सिताके च्याउ उत्पादन गर्न थालेको हुँ”, उनले भने ।

    अहिले जोशीको फार्ममा उत्पादन सीमित भए पनि बजारमा सिताके च्याउको माग बढिरहेको छ । उनले सातामा आठदेखि १० किलोसम्म सिताके च्याउ डडेल्धुरा बजार पठाउने गरेका छन्। मागअनुसार उत्पादन गर्न नसकिएको उनको भनाइ छ । तराईका जिल्लामा समेत सिताके च्याउको माग राम्रो रहेकाले उत्पादन बढाउन सके बजारको समस्या नहुने उनी बताउँछन् ।

    च्याउखेतीले आफूलाई गाउँमै स्वरोजगार बनाउनुका साथै अरूलाई पनि यसतर्फ आकर्षित गर्ने अवसर दिएको जोशीको अनुभव छ । पछिल्ला केही वर्षयता उनी सरकारी कार्यालयमार्फत सुदूरपश्चिमका तराईका जिल्लामा सञ्चालन हुने सिताके च्याउखेतीसम्बन्धी तालिममा प्रशिक्षकका रूपमा समेत काम गर्दै आएका छन् ।

    स्थानीय स्रोतसाधन, प्राविधिक सीप र बजारको मागलाई जोड्न सके च्याउखेती ग्रामीण क्षेत्रका किसानका लागि स्वरोजगार र आम्दानीको राम्रो माध्यम बन्न सक्ने जोशीको अनुभव छ । विदेशमा सिकेको सीपलाई आफ्नै गाउँमा प्रयोग गरेर उनले रोजगारीका लागि विदेशिनु मात्रै विकल्प होइन भन्ने उदाहरणसमेत प्रस्तुत गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images