काठमाडौं – तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लीश्वाराका बारी यतिबेला सयपत्री फूलले पहेँलपुर बनेका छन् । बारीभरि ढकमक्क फुलेका फूलले वातावरण सुन्दर देखिए पनि किसानको मनमा भने बजारको चिन्ता बढेको छ । तिहारलाई लक्षित गरेर लगाइएको फूल दसैँलगत्तै फक्रिएपछि तिहारसम्म बिक्री गर्न सकिने हो कि होइन भन्ने अन्योल किसानमा देखिएको छ ।
तिहारमा सयपत्री फूलको माग उच्च हुने भएकाले किसानले यसै समयलाई लक्षित गरेर खेती गरेका थिए । तर, यस वर्ष तिहार ढिलो परेकाले फूल अपेक्षाभन्दा अगाडि नै फुलेको हो । फूल छिटो फक्रिएपछि तिहारसम्म ताजा राख्न र उचित मूल्यमा बिक्री गर्न सकिनेमा किसान विश्वस्त हुन सकेका छैनन् ।
चण्डेश्वरी फलफूल तथा तरकारी कृषक समूहकी अध्यक्ष जितमाया रानाका अनुसार गत वर्ष तिहार छिटो परेकाले फूल बिक्री गर्न समस्या भएको थिएन । मागअनुसार फूल पुर्याउनसमेत नसकिएको अनुभवले यस वर्ष किसानलाई खेती विस्तार गर्न हौसला दिएको थियो । तर, यसपटक फूल नै तिहारअघि फक्रिन थालेपछि बजारको चिन्ता बढेको उनले बताइन् ।
“गत वर्ष तिहार छिटो परेको थियो। फूल पनि राम्ररी बिक्री भयो। मागअनुसार पुर्याउनै सकेनौँ,” उनले भनिन्, “यसपटक तिहार ढिलो छ । फूल भने दसैँलगत्तै फक्रिन थालेको छ । एक हप्ता अगाडि नै फूल फुलेपछि तिहारसम्म बिक्री हुन्छ कि हुँदैन भन्ने चिन्ता लागेको छ ।”
जितमायाको यो चिन्ता समूहमा आबद्ध २३ जना किसानको साझा समस्या बनेको छ। गत वर्षको राम्रो आम्दानी र बजारमा देखिएको मागबाट उत्साहित किसानले यस वर्ष फूलखेतीको क्षेत्रफल झन्डै तीन गुणा बढाएका छन् ।
मकै, मास र बोडी छाडेर फूलखेती
छिम्लीश्वाराका किसानले पहिले बारीमा मकै, मास र बोडी खेती गर्दै आएका थिए । मिहिनेत धेरै गर्नुपर्ने भए पनि त्यसबाट अपेक्षित आम्दानी हुन नसकेपछि उनीहरूले नयाँ विकल्प खोज्न थाले। यही क्रममा गत वर्षदेखि सामूहिक रूपमा सयपत्री फूलखेती सुरु गरेका हुन् ।
विदेशबाट फूल आयात हुने गरेको देखेपछि आफ्नै गाउँमा उत्पादन गरेर स्थानीय बजारको माग पूरा गर्न सकिने उनीहरूको सोच थियो । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने र किसानको आम्दानी बढाउने उद्देश्यले सुरु गरिएको फूलखेतीले पहिलो वर्षमै उत्साहजनक परिणाम दिएको अध्यक्ष राना बताउँछिन् ।
गत वर्ष समूहले छ रोपनी क्षेत्रफलमा सयपत्री खेती गरेको थियो। तिहारका बेला फूलको माग राम्रो भएकाले उत्पादन बिक्री गर्न समस्या भएन। मागअनुसार फूल पुर्याउन नसकेपछि किसानले यस वर्ष खेती विस्तार गरेका हुन् ।
यसपटक समूहले १६ रोपनी क्षेत्रफलमा सयपत्री लगाएको छ। गत वर्षको तुलनामा झन्डै तीन गुणा क्षेत्रफलमा खेती विस्तार गरेका किसानले १५ लाख रुपैयाँ बराबरको फूल बिक्री गर्ने लक्ष्य राखेका छन् । तर, फूल फुल्ने समय र तिहारको मितिबीच तालमेल नमिल्दा लक्ष्य पूरा हुनेमा उनीहरू ढुक्क छैनन् ।
गत वर्ष साढे चार लाख आम्दानी
समूहले गत वर्ष सयपत्री फूल बिक्री गरेर चार लाख ५० हजार रुपैयाँ आम्दानी गरेको थियो । त्यतिबेला प्रतिकिलो तीन सय रुपैयाँका दरले फूल बिक्री गरिएको अध्यक्ष रानाले बताइन् । बजारमा माग उच्च रहेकाले उत्पादित फूल बिक्री गर्न समस्या नभएको उनको भनाइ छ ।
“गत वर्ष माग धेरै थियो, फूल पुर्याउन सकेनौँ। त्यसैले यसपटक खेती बढाएका हौँ,” उनले भनिन्, “तर यस वर्ष तिहार ढिलो भएकाले फूलको बजार कस्तो हुन्छ भन्ने अन्योल छ ।”
फूलखेतीमा लगानी, श्रम र समय खर्च भइसकेको छ। अब किसानको आम्दानी तिहारको बजार, फूलको गुणस्तर र बिक्री व्यवस्थापनमा निर्भर छ । समयमै बिक्री गर्न नसकिए फूल ओइलाउने र अपेक्षित मूल्य नपाउने जोखिम रहेको किसान बताउँछन् ।
बिचौलियाका कारण उचित मूल्य नपाएको गुनासो
फूलखेती विस्तारसँगै किसानले बजार व्यवस्थापन र मूल्य निर्धारणको समस्या पनि भोगिरहेका छन् । गत वर्ष प्रतिकिलो तीन सय रुपैयाँमा फूल बिक्री गरेका किसानले आफूहरूबाट फूल खरिद गरेर लैजाने व्यापारीले उपभोक्तालाई अझ बढी मूल्यमा बिक्री गरेको अनुभव सुनाएका छन् ।
सुरुमा फूलको उचित मूल्यबारे जानकारी नभएकाले आफूहरूले तोकेको मूल्यमा बिक्री गरेको अध्यक्ष रानाको भनाइ छ । किसानले उत्पादनका लागि धेरै मिहिनेत गरे पनि उपभोक्ताले तिर्ने अन्तिम मूल्यको तुलनामा आफूहरूले कम लाभ पाउने अवस्था रहेको उनले बताइन् ।
“फूलको मूल्य कति राख्ने भन्ने हामीलाई थाहा थिएन । प्रतिकिलो तीन सय रुपैयाँमा बिक्री गर्यौँ। हामीसँग फूल किनेर लैजाने व्यापारीले उपभोक्तालाई बढी मूल्यमा बेच्नुभयो,” उनले भनिन्, “किसान र उपभोक्ताबीच सिधै सम्पर्क भएर खरिद–बिक्री गर्न सके किसानले पनि राम्रो मूल्य पाउँथे, उपभोक्ताले पनि सहज रूपमा फूल पाउन सक्थे ।”
किसानले फूल बिक्रीका लागि स्थानीय तहले हाटबजार वा व्यवस्थित बिक्री केन्द्रको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । किसान र उपभोक्तालाई प्रत्यक्ष जोड्न सके बिचौलियामाथिको निर्भरता घट्ने र दुवै पक्षलाई लाभ पुग्ने उनीहरूको अपेक्षा छ ।
परम्परागत खेतीभन्दा फूलखेतीबाट बढी आम्दानीको आशा
समूहकी कोषाध्यक्ष सन्सरी रानाका अनुसार पहिले मकै र मास खेती गर्दै आएका किसानले त्यसबाट अपेक्षित आम्दानी लिन नसकेपछि फूलखेती रोजेका हुन् । गत वर्ष सयपत्रीबाट राम्रो आम्दानी भएपछि यसपटक खेती विस्तार गरिएको उनले बताइन् ।
“पहिले मकै, मास लगाउँथ्यौँ। जति दुःख गरे पनि आम्दानी कम हुन्थ्यो । फूलखेती गर्दा गत वर्ष राम्रो आम्दानी भयो,” उनले भनिन्, “यसपटक तिहार ढिलो भएको छ । फूल छिटै फुलेकाले बजारमा मूल्य पाउँछौँ कि पाउँदैनौँ भन्ने चिन्ता छ ।”
समूहकी सदस्य विसरा रानालाई पनि फूल छिटो फुलेकोमा चिन्ता छ। तिहारसम्म फूल बिक्री गर्न सकिने हो कि होइन भन्ने अन्योलसँगै वर्षाको सम्भावनाबारे आउने समाचारले थप चिन्तित बनाएको उनले बताइन् ।
“फूल छिटै फुलेको छ। अब के हुन्छ भन्ने चिन्ता लागेको छ,” उनले भनिन्, “फेरि पानी पर्छ भन्ने समाचार पनि आइरहेको छ ।”
छिम्लीश्वाराका २३ जना महिलाले सामूहिक रूपमा सुरु गरेको सयपत्री फूलखेती स्थानीय उत्पादन र सामूहिक उद्यमको उदाहरण बनेको छ । परम्परागत खेतीबाट अपेक्षित आम्दानी लिन नसकेपछि नयाँ सम्भावना खोजेका उनीहरूले पहिलो वर्षको अनुभवका आधारमा उत्पादन विस्तार गरेका हुन् ।
तर, किसानको मिहिनेत र लगानीलाई प्रतिफलमा बदल्न उत्पादन मात्रै पर्याप्त देखिएको छैन । फूल फुल्ने समय, चाडपर्वको माग, मूल्य निर्धारण र बिक्री व्यवस्थापनबीच तालमेल आवश्यक छ । स्थानीय तहले व्यवस्थित बजार र बिक्री केन्द्रको व्यवस्था गरी किसानलाई उपभोक्तासँग प्रत्यक्ष जोड्न सके स्वदेशी फूलखेतीलाई दिगो व्यवसायका रूपमा विकास गर्न सहयोग पुग्ने देखिन्छ ।




















