images
images
  • बागमतीका स्वास्थ्य संस्थामा आवश्यकताअनुसार अस्थायी दरबन्दी थपिने

    काठमाडौं – बागमती प्रदेश सरकारले स्वास्थ्य संस्थामा जनशक्ति अभाव समाधान गर्न आवश्यकताअनुसार अस्थायी दरबन्दी थप्ने तयारी गरेको छ ।

    प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार हेटौँडामा आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठी उद्घाटन गर्दै यस्तो जानकारी दिएका हुन् ।

    उनका अनुसार प्रदेशका स्वास्थ्य संस्थाको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) सम्पन्न भइसकेको छ । सर्वेक्षणको निष्कर्ष र आवश्यकताका आधारमा कर्मचारी व्यवस्थापन गरिने उनले बताए ।

    मुख्यमन्त्री थापाले प्रदेशका अस्पताल, जनस्वास्थ्य कार्यालय तथा आयुर्वेद र वैकल्पिक चिकित्सालयमा पर्याप्त जनशक्ति उपलब्ध गराउन नसकिएको स्वीकार गरे । अस्थायी दरबन्दी थपेर स्वास्थ्य सेवा प्रवाहलाई सहज बनाउने प्रदेश सरकारको तयारी रहेको उनको भनाइ थियो ।

    उनले प्रदेशको कुल बजेटको ४.५ प्रतिशत मात्र स्वास्थ्य मन्त्रालयका लागि विनियोजन भएको उल्लेख गर्दै सीमित बजेटबाट १३ प्रादेशिक अस्पताल, १३ आयुर्वेद तथा वैकल्पिक चिकित्सालय र १३ जनस्वास्थ्य कार्यालयलगायतका निकाय सञ्चालन गर्नुपर्ने अवस्था रहेको बताए ।

    प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा विस्तार भइरहेको जानकारी दिँदै मुख्यमन्त्री थापाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुरोगसम्बन्धी सेवा सञ्चालन गर्न क्याथल्याब स्थापना गर्ने गरी बजेट विनियोजन गरिएको पनि बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images