images
images
  • मध्यावधि निर्वाचनमा संसारको आँखा, बदल्ला त अमेरिकाको दशा र दिशा ?

    काठमाडौं– इरानसहित मध्यपूर्वमा एउटा चिन्ता र चासो छ । अमेरिकामा हुने मध्यावधि निर्वाचनपछि इरानमाथि हमला हुने त होइन ? हो यही चासोको बीचमा अमेरिकामा आज मध्यावधि निर्वाचन हुँदैछ ।

    एकातर्फ यो निर्वाचन अमेरिकाकै दुई दलका लागि प्रतिष्ठाको विषय हो । अर्कोतर्फ मध्यपूर्वमा अमेरिकाको उपस्थिति कस्तो रहने भन्ने चासो हो । अमेरिकामै अहिले बढेको महँगीका कारण जनजीवनमा समस्या परेको छ । यो अर्को प्रमुख मुद्दा हो ।

    अमेरिकामा आइतबारसम्म ५ करोडसम्मले अर्ली इलेक्सनको सुविधाअन्तर्गत मतदान गरेका थिए । यसले निर्वाचनमा अमेरिकी उत्साहलाई प्रस्ट पारेको छ ।

    यसअघि सन् २०२४ मा सम्पन्न अमेरिकी राष्ट्रपति निर्वाचनमा २ करोड ३० लाख अर्ली मतदान भएको थियो । दुई दिन बाँकी रहँदासम्मको मत सर्वेक्षणअनुसार डेमोक्रेटको पक्षमा ५१.५ र रिपब्लिकनको पक्षमा ४३.१ प्रतिशत मत छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अलोकप्रिय रहेको मौकामा हुन लागेको यो निर्वाचनमा डेमोक्रेटहरु बढी आशावादी छन् । सर्वेक्षणले डेमोक्रेटलाई अघि देखाएको छ । विगतलाई आधार मान्ने हो भने सर्वेक्षण सही हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन ।

    early election us26

    विगत ३ वटा निर्वाचनमा सर्वेक्षण असफल भएका छन् । सन् २०१६ र २०२४ मा मत सर्वेक्षणलाई असफल बनाउँदै डोनाल्ड ट्रम्प राष्ट्रपति पदमा निर्वाचित भएका थिए । सन् २०२० मा जो बाइडेन धेरै अन्तरले विजयी हुने अनुमान गरिए पनि थोरै मतले मात्र विजयी भए ।

    फेब्रुअरी महिनामा अमेरिका र इजरायलले इरानमा आक्रमण गरेका थिए । ८ महिनापछि त्यो युद्ध सकिएको पनि छैन । दुवै पक्षले फायर खोलेका पनि छैनन् ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अझै पनि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग संवादमा छन् । नेतान्याहुको गठबन्धनले आवश्यक बहुमत त पूरा गरेन । परन्तु विपक्ष गठबन्धनभन्दा अघि रह्यो । सायद नेतान्याहुले विपक्षीबाट कुनै कित्ता आफ्नो पक्षमा ल्याएर सत्तामा रहिरहने प्रयास गर्नेछन् ।

    २१ करोड मतदाताले अमेरिकाको नयाँ भाग्यको परीक्षण गर्नेछन् । यस निर्वाचन परिणामले संसारका अन्य धेरै देशको आन्तरिक राजनीतिलाई समेत असर गर्न सक्नेछ ।

    सन् २०२४ मा कार्यालयमा प्रवेश गरेका डोनाल्ड ट्रम्पका केही कार्यक्रम र नीति चर्चामा रहे । उनका अध्यागमन नीति विवादमा रहे । युक्रेनलाई रुसविरुद्धको युद्धमा निरन्तर सहयोग गरेको अमेरिकाले सहयोगलाई सोहीअनुरूप अघि बढाउन सकेन । युद्ध अन्त्य गर्न पनि सकेन । ट्रम्प प्रशासनका धेरै मनोनयन विवादमा परे ।

    अमेरिकाको इतिहासलाई हेर्ने हो भने मध्यावधि निर्वाचनमा सत्तारुढ दलले धेरैजसो सिट गुमाएका छन् । यस अर्थमा पनि डेमोक्रेट बढी आशावादी छ । यस निर्वाचनमा रिपब्लिकनको चुनावी कार्यक्रमको नेतृत्व राष्ट्रपति ट्रम्पले गरे पनि डेमोक्रेटको नेतृत्व पूर्वराष्ट्रपति बाराक ओबामाले गरे । प्रायःजसो कार्यक्रममा उनले नै सम्बोधन गरे ।

    ओबामाको सम्बोधनले अफ्रिकी मूलका अमेरिकीलाई धेरै उत्साही गराएको अनुमान छ । यस पटक प्रतिनिधिसभामा ४३५ तथा सिनेटका १०० मध्ये ३५ स्थानका लागि मतदान हुनेछ ।

    चार सिटका लागि लडाइँ

    donald trump el

    अहिले प्रतिनिधिसभामा डेमोक्रेटको २१४ सिट छ । प्रतिनिधिसभामा बहुमत पुगेका डेमोक्रेटले रिपब्लिकलाई पूरै दबाब दिनसक्छ । यस अर्थमा ४ सिट बढाउन आवश्यक छ ।

    सिनेटमा पनि डेमोक्रेटको डेमोक्रेटको ४७ सिट छ । बहुमतका लागि ५१ सिट आवश्यक छ । तसर्थ दुवै संसद्मा डेमोक्रेट पार्टी र सो पार्टीका नेता बाराक ओबामा देशव्यापी दौडाहामा लागेका छन् ।

    barak obama el

    यसरी ४ सिट बढाउन सकेमा ट्रम्प प्रशासनको आप्रवासी नीति, इरान युद्धमा बहस सुरु हुनेछ ।

    यदि रिपब्लिकनले पराजयको सामना गरेमा ट्रम्पको भन्सार कर नीति र आप्रवासी नीतिको बारे रिपब्लिकन पार्टीमै छलफल हुनेछ । यसका लागि डेमोक्रेटको प्रयास विगतदेखि नै रिपब्लिकन प्रभाव रहेको ओहियो, लोहा, अलास्का र टेक्सासमा बढी छ ।

    मतदानको क्रममा विवाद हुने सम्भावना पनि छ । धेरै निर्वाचन क्षेत्रमा तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यसैकारण ट्रम्पको न्याय प्रशासनले १००० पर्यवेक्षक खडा गरेको छ । यो सङ्ख्या पछिल्लो मध्यावधि निर्वाचनको भन्दा तिन गुणा हो ।

    घोषणामा के होला ?

    धेरैलाई सन् २०२० नोभेम्बर ४ को घटना याद छ । अमेरिकी पदमा रहेका ट्रम्प जो बाइडेनसँग पराजित भएपछि उनले गणनामा अवरोध सृजना गरेका थिए । उनले आफैं निर्वाचित भएको घोषणासमेत गरेका थिए ।

    यदि अहिलेको एकदमै प्रतिस्पर्धात्मक चुनावमा रिपब्लिकले झिनो मतले हारेमा ट्रम्पको प्रतिक्रियाको बारे धेरैको चासो रहेको छ । विगतको निर्वाचनलाई नजिकबाट हेर्नेहरू केही दिनअघि डेमोक्रेटहरू हाबी झैँ लागे पनि अन्तिम दिन डेमोक्रेटहरूको गतिविधि कमजोर बनेका छन् । उनीहरूका धेरै मतदाताले अन्तिम समयमा मन फेरेको घटना धेरै छ ।

    यस पटक डेमोक्रेटको सावधानी बढी महत्त्वपूर्ण हो । खासमा अरब अमेरिकी र ल्याटिन अमेरिकी मूलका व्यक्तिहरूमा यो समस्या डेमोक्रेटले विगतमा पनि भोगेको थियो ।

    संसारका धेरै देशको राजनीति फेरिएको छ । लिबरल डेमोक्रेट या सेन्टर राइटबाट अति दक्षिणपन्थी या वामपन्थीतर्फ मान्छेहरूको लगाव बढिरहेको समयमा अमेरिकामा यो निर्वाचन हुन लागेको हो । अमेरिकाकै सवालमा सीमान्तकृतको पक्षमा तुलनात्मक रूपमा डेमोक्रेटले नीति बनाएको विगत छ । अमेरिकाको मध्यावधि निर्वाचनले मतदातालाई कुन बाटोमा आकर्षित गर्ने हो, त्यो संसारकै चासोको विषय हो ।

    – सीएनएन, बीबीसी, रोयटर्स, अलजजिरालगायतको सहयोगमा

    प्रतिक्रिया दिनुहोस्
    images
    images