images
images
  • अडियोको प्राविधिक परीक्षणबिनै सांसद सुनारलाई चोख्याउने तयारी, अन्तिम निर्णयको जिम्मा बालेन– रविलाई

    काठमाडौं – रास्वपामा फेरि अर्को एउटा काण्ड सामसुम पार्ने आन्तरिक तयारी गरिएको छ। पार्टीमा बिभिन्न काण्डमा मुछिएका सांसद तथा नेताहरुका बारेमा छानबिन समिति बनाउदै उनीहरुलाई चोख्याउने श्रृखलाको पछिल्लो उदाहारण बन्ने भएको छ –सांसद खगेन्द्र सुनारको अडियो काण्ड । यो काण्डलाई पनि सामसुम पारेर चोख्याउने तयारी भएको स्रोतले बतायो । यस अघि गृहमन्त्री सुदन गुरुङको सम्पतिको स्रोतसँग जोडिएको काण्ड सार्वजनिक भएपपिछ यसैगरी छानिबिन समिति बनाएर चोख्याइएको थियो। अहिले सम्म ति छानबिन समितिको प्रतिवेदन गोप्य नै छन्।
    सांसद खगेन्द्र सुनारको अडियो काण्डको पनि थप अनुसन्धान अघि नबढ्ने देखिएको छ। सुनारले आवाज आफ्नो नभएको बयान दिएको र पीडित महिलाले पनि त्यसबारे कतै उजुरी नदिएकोले अनुसन्धान अघि बढाउन अन्योल भएकोले यसरी सफाई दिने तयारी भएको छानबिन समितिका सदस्यहरू बताउँछन्। अडियो काण्ड सार्वजनिक भएपछि पार्टीले सुनारलाई सार्बजनिक कार्यक्रममा रोक लगाएको छ।

    सुनारले एक महिलालाई हिंसात्मक शैलीमा गाली गरेको अडियो गत असोज २६ गते बाहिरिएपछि छानबिन गर्न रास्वपाले केन्द्रीय अनुशासन आयोगलाई निर्देशन दिएको थियो।

    तर, सुनारले त्यो अडियो आफ्नो नभएको दाबी गरेका थिए। त्यसपछि रास्वपाले प्राविधिक परीक्षण गर्नेसम्मको अख्तियारी दिएर असोज २७ गते आयोगका उपप्रमुख अधिवक्ता हरिचन्द्र भट्टराईको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति बनाएको थियो।

    समितिले कात्तिक १२ गते सुनारसँग ४ घण्टा बयान लिएको थियो। समितिले अडियोको प्राविधिक परीक्षण बिना नै
    अब थप अनुसन्धान गर्न नपर्ने निष्कर्षसहित तिहारअघि नै आयोगलाई प्रतिवेदन बुझाउने गरेको छ। ।

    समितिका एक सदस्यले सांसद सुनारबाट पीडित भनिएकी महिलाले दिएको अन्तर्वार्ताले अनुसन्धान अघि बढाउन समस्या भएको दाबी गरे। ती महिलासँग न्युज २४ ले अन्तर्वार्ता लिएको थियो। सो भिडिओ टेलिभिजनले समितिलाई उपलब्ध गराएको थियो।

    ‘पीडित भनिएकी महिलाले मेरो आवाज होइन, मलाई नमुछिदिनुस् भन्ने खालको बयान दिएपछि हामीलाई थप अनुसन्धान गर्न समस्या भयो,’ उनले भने, ‘उजुरकर्ता नभएपछि यो आवाज तेरै हो भन्दै कहाँसम्म जाने त भन्ने भयो।’ महिलाले सुनारको मिलेमतोमा बयान फेरेको( होस्टाल) स्रोतले दाबी गरेको छ।

    सांसद सुनारले अडियो आफ्नो नभएको र एआईनिर्मित भन्दै दाबी गरेपछि छानबिन समितिले आवश्यक परे अडियोको प्राविधिक परीक्षण गर्ने बताएको थियो।

    त्यसकै लागि जनआस्थाले सार्वजनिक गरेको अडियोको सक्कल समितिले कार्यालयमै पुगेर ल्याएको थियो। न्युज २४ ले प्रसारण गरेको पीडित महिलाको अन्तर्वार्ताको भिडिओ पनि समितिले मगायो। समितिमा आईटी विज्ञ सन्तोष विसुङ्खे छन्। तर, समितिले अडियोको प्राविधिक परीक्षण पनि नगर्ने भएको छ।

    अडियो बाहिरिएपछि सांसद सुनार आफैँ सुध्रिसकेको कुरा पनि समितिमा भएको थियो। पार्टीले सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएपछि उनी अहिले चुपचाप छन्।

    ‘अनुशासनमा जाँदा मात्रै पनि माननीय सुनारजी धेरै हदसम्म करेक्सन भइसकेको देखिन्छ,’ एक सदस्यले सुनारबारे समितिमा चलेको चर्चा सुनाए।

    अन्तिम निर्णय रवि–बालेनको हातमा
    रास्वपामा सुनारको अडियो प्रकरणलाई सामान्य रुपमा लिन नहुने पक्षमा अधिकांश सांसदहरू छन्। छानबिन समिति भने अनुसन्धान रोक्ने पक्षमा देखिएको छ। तर, यसको अन्तिम निर्णय चाहिँ सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाहको हातमा रहेको रास्वपा नेताहरू बताउँछन्।

    समितिले जेसुकै राय दिए पनि रवि–बालेनको चाहनाबमोजिम आयोगले निर्णय गर्ने उनीहरूले बताए।

    रास्वपाका एक सांसद भने सुनारलाई कारबाही गर्नुपर्ने र नगरे पछि झन् समस्या आउनसक्ने भन्दै आफूहरूले सचेत गराइरहेको बताउँछन्।

    समितिले असोज २८ गतेबाट काम थालेको थियो। भट्टराई संयोजकत्वमा बनेको छानबिन समितिमा अधिवक्ता सुशीला सिम्खडा, अधिवक्ता उपेन्द्रनन्दन तिमल्सिना, अधिवक्ता सन्तोष आचार्य, रामचन्द्र कार्की, सन्तोष विसुङ्खे (आईटी विज्ञ) छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images