काठमाडौं – पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने भएको छ । चितवनको मझिमटारमा निर्माणाधीन आकाशे पुलको यात्रु आवतजावत गर्ने भागमा गर्डर राख्नुपर्ने भएकाले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा रोक्न लागिएको हो ।
नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार पुलको गर्डर राख्ने काम सुरक्षित रूपमा सम्पन्न गर्न सडक बन्द गर्न लागिएको हो । उक्त अवधिमा मलेखु–मुग्लिङ सडकखण्ड भएर सञ्चालन हुने सबै प्रकारका सवारीसाधनको आवागमन रोकिने उनले जानकारी दिए ।
सडक बन्द रहने समयमा सवारी चालक तथा यात्रुलाई धैर्यतापूर्वक यथास्थानमा रहन, लेन अनुशासन कायम गर्न र ट्राफिक नियम पालना गर्न आयोजनाले आग्रह गरेको छ । सडक बन्द हुँदा यात्रु तथा सवारी चालकलाई पर्न जाने असुविधाप्रति आयोजनाले क्षमासमेत मागेको छ ।






















