काठमाडौं – देउखुरी उपत्यका तथा आसपासका क्षेत्रमा राप्ती नदीको दिगो व्यवस्थापनका लागि वैज्ञानिक अध्ययन र गुरुयोजना निर्माणको काम अघि बढाइएको छ । लमहीस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले नदीको बहाव क्षेत्र निर्धारण, बाढी जोखिम न्यूनीकरण र जलवायुमैत्री पूर्वाधार निर्माणलाई लक्षित गर्दै अध्ययन सुरु गरेको हो ।
पश्चिम राप्ती नदीको जलाधार क्षेत्रमा भू–उपयोगमा आएको परिवर्तन, विश्वव्यापी तापक्रम वृद्धि तथा जलवायु परिवर्तनका कारण नदीको बहावमा परेको असरलाई ध्यानमा राखेर अध्ययन अघि बढाइएको आयोजनाले जनाएको छ । नदीको प्राकृतिक बहाव र जोखिमको वैज्ञानिक विश्लेषण गरी भविष्यमा निर्माण हुने संरचनालाई दिगो बनाउने यसको उद्देश्य छ ।
आयोजनाका सूचना अधिकारी खुमानन्द वलीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा पश्चिम राप्ती नदीको सतबरिया क्षेत्रसम्मको करिब ४२ किलोमिटर खण्डमा बहाव क्षेत्र निर्धारण तथा अध्ययन सम्पन्न गरिएको छ । यस अध्ययनले नौमुरे बाँध निर्माणपछि पश्चिम राप्ती नदीमा सुक्खायाममा देखिन सक्ने पानीको अभाव र वर्षायाममा आउने बाढी व्यवस्थापनमा सहयोग पुग्ने उनले बताए ।
वैज्ञानिक अध्ययनका आधारमा नदी नियन्त्रण, पुल तथा अन्य जलप्रवाहसम्बन्धी संरचनाको डिजाइनमा एकरूपता कायम गर्न सकिने आयोजनाको अपेक्षा छ । यसबाट नदीको बहाव, बाढीको जोखिम र जलवायु परिवर्तनका असरलाई ध्यानमा राखेर दिगो तथा जलवायुमैत्री संरचना निर्माण गर्न सहयोग पुग्नेछ ।
यसैबीच, हालसम्म निर्माण भएका नदी नियन्त्रण संरचनाको संरक्षण तथा आगामी योजना व्यवस्थित बनाउन वेबमा आधारित सम्पत्ति व्यवस्थापन प्रणालीसमेत तयार पारिएको छ । उक्त प्रणालीमा निर्माण भइसकेका संरचनाको डिजिटल अभिलेख, तिनबाट समुदायमा पुगेको लाभ, थप आवश्यक संरचनाको विवरण, अनुमानित लागत र अपेक्षित प्रतिफल समेटिनेछ ।
यही विवरणका आधारमा आवश्यकताअनुसार अद्यावधिक गर्न सकिने गतिशील गुरुयोजना तयार गरिने आयोजनाले जनाएको छ । यसले नदी व्यवस्थापनसम्बन्धी योजना छनोट, लगानीको प्राथमिकता निर्धारण र पूर्वाधार निर्माणलाई थप पारदर्शी तथा व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।






















