images
images
  • बागलुङ प्रहरीलाई भाडाको कोठामा बस्नुपर्ने बाध्यता हट्यो

    काठमाडौं – साँघुरो र पुरानो भवनबाट प्रशासनिक कामदेखि हिरासत व्यवस्थापनसम्म गर्नुपर्ने बाध्यता झेल्दै आएको जिल्ला प्रहरी कार्यालय बागलुङको भौतिक पूर्वाधारमा सुधार भएको छ । प्रहरी परिसरभित्र चारवटा नयाँ भवन निर्माण भएपछि प्रहरी कर्मचारीलाई आवास, ब्यारेक र हिरासतको सुविधा उपलब्ध भएको छ । यससँगै यसअघि भाडाका कोठामा बस्दै आएका प्रहरी कर्मचारीले कार्यालय परिसरभित्रै आवास पाएका छन् ।

    जिल्ला सदरमुकामस्थित प्रहरी कार्यालयमा यसअघि जस्ताले छाएका टहरा र करिब ३० वर्ष पुरानो साँघुरो भवनबाट सेवा सञ्चालन हुँदै आएको थियो । पर्याप्त भवन नहुँदा प्रशासनिक काम, प्रहरी आवास, हिरासत कक्ष र हातहतियार भण्डारणसमेत एउटै पुरानो भवनबाट गर्नुपर्ने अवस्था थियो । आवासको अभावमा केही प्रहरी कर्मचारी भाडाका कोठामा बस्न बाध्य थिए ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईँका अनुसार अहिले ब्यारेक, हिरासत कक्ष, प्रहरी अधिकृतको आवास र कार्यालय प्रमुखको निवास गरी चारवटा सुविधासम्पन्न भवन निर्माण भएका छन् । नयाँ संरचना निर्माण भएपछि प्रहरीको आवास तथा दैनिक कार्यसम्पादनमा सहजता थपिएको उहाँले बताए ।

    सङ्घीय सरकारको प्रहरी पूर्वाधार निर्माण कार्यक्रमअन्तर्गत नौ करोड ७१ लाख ९३ हजार ५०० रुपैयाँ लागतमा प्रहरी परिसरमा ब्यारेक, हिरासत कक्ष, वरिष्ठ प्रहरी अधिकृतको आवास, कार्यालय प्रमुखको निवास, मोटर ग्यारेज, पर्खाल र प्रवेशद्वार निर्माण गरिएको हो । पुरानो कार्यालय भवनको समेत मर्मतसम्भार तथा सौन्दर्यकरण गरिएको छ ।

    नवनिर्मित ब्यारेक भवनको भुइँतलामा मेस, भण्डार कक्ष र प्रहरी कर्मचारीका लागि आवासको व्यवस्था गरिएको छ । महिला प्रहरीका लागि छुट्टै ब्यारेकसमेत निर्माण गरिएको छ । पहिलो र दोस्रो तलासहित आठ हजार ६७१ वर्गफिट क्षेत्रफलमा बनेको उक्त भवनमा १४० जना प्रहरी कर्मचारी बस्न सक्ने क्षमता छ ।

    प्रहरी परिसरमा महिला र पुरुषका लागि छुट्टाछुट्टै हिरासत कक्ष निर्माण गरिएका छन् । हिरासत भवनमा सुरक्षाकक्ष, भेटघाट कक्ष, नाबालिगका लागि दुईवटा छुट्टै हिरासत कक्ष, अन्तर्वार्ता कक्ष र हातहतियार भण्डारण कक्षको व्यवस्था गरिएको छ । शौचालयसहितको व्यवस्थित हिरासत भवन निर्माण भएपछि थुनुवाको व्यवस्थापनमा समेत सहज भएको प्रहरीले जनाएको छ ।

    प्रहरी अधिकृत र कार्यालय प्रमुखका लागि छुट्टाछुट्टै दुई आवासीय भवन निर्माण गरिएका छन् । यसअघि कार्यालय प्रमुखको निवास पुरानो अञ्चल प्रहरी कार्यालयबाट सञ्चालन हुँदै आएको थियो । पर्याप्त कार्यकक्ष र आवासको व्यवस्था भएपछि प्रहरीको दैनिक कार्यसम्पादन, सुरक्षा व्यवस्थापन तथा सेवा प्रवाह प्रभावकारी हुने र कर्मचारीको मनोबलसमेत बढ्ने अपेक्षा गरिएको छ ।

    जिल्ला प्रहरी कार्यालयको भौतिक पूर्वाधारमा सुधार भए पनि जिल्लाका अन्य प्रहरीचौकीको अवस्था भने अझै कमजोर छ। जिल्लाका १५ वटा प्रहरीचौकी भाडाका घरबाट सञ्चालन भइरहेका छन् । प्रहरी उपरीक्षक प्रसाईँका अनुसार आठवटा प्रहरीचौकीको आफ्नै जग्गासमेत छैन भने जग्गा भएका सातवटा चौकीमा भवन निर्माण हुन सकेको छैन ।

    जिल्लाको मुख्य प्रवेशद्वार मालढुङ्गास्थित प्रहरीचौकी भवन अभावमा चार वर्षदेखि घाटको सत्तलबाट सञ्चालन हुँदै आएको छ। उक्त चौकीका लागि भने हालै भवन निर्माणको शिलान्यास गरिएको छ । जिल्ला सदरमुकामको प्रहरी कार्यालयमा पूर्वाधार थपिए पनि जिल्लाका अन्य चौकीको भवन तथा जग्गासम्बन्धी समस्या समाधान गर्नुपर्ने चुनौती भने कायमै छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images