images
images
  • स्थानीयको श्रमदानबाट पाउद्वार–खोप्रा पदमार्ग सञ्चालनमा

    काठमाडौं – गत असोजमा परेको भीषण वर्षापछि पहिरोले अवरुद्ध बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित पाउद्वार गाउँदेखि खोप्रा जोड्ने पदमार्ग स्थानीयवासीको श्रमदानबाट मर्मत गरी सञ्चालनमा ल्याइएको छ । पाउद्वारका बासिन्दाले पहिरो पन्छाउनुका साथै नयाँ बाटो निर्माण गरेर पाउद्वार–खोप्रा–खयर पदमार्गको पाउद्वार–हिलडाँडा–लरेनी खण्ड खुलाएका हुन् ।

    पाउद्वार पर्यटन सहकारी संस्थाका सचिव हरि तिलिजा पुनका अनुसार स्थानीयवासीले श्रमदान गरेर पदमार्ग मर्मत गरेपछि आवतजावत सहज भएको छ । दुई सय घरपरिवार रहेको पाउद्वारका बासिन्दा पहिरोबाट क्षति पुगेको पदमार्ग, विद्युत् र खानेपानी आयोजना मर्मतका लागि एक महिनादेखि श्रमदान अभियानमा जुटेका छन् ।

    स्थानीय प्रभा तिलिजा पुनका अनुसार दैनिक ५० जनाका दरले पाँच दिनसम्म श्रमदान गरेर पदमार्ग सञ्चालनमा ल्याइएको हो। पदमार्ग खुलेपछि पर्यटकलाई आवतजावत सहज हुनुका साथै स्थानीयवासीलाई घाँसदाउरा गर्न र गोठसम्म पुग्न पनि सजिलो भएको छ ।

    अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने समुद्री सतहबाट तीन हजार ५६० मिटर उचाइमा अवस्थित खोप्रा पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको छ। बस्तीभन्दा टाढा शान्त र एकान्त वातावरणमा रहेको खोप्राबाट सूर्योदय, हिमशृङ्खला, पहाडी भूगोल तथा पशुगोठको अवलोकन गर्न सकिन्छ ।

    खोप्रा सामुदायिक लजका कर्मचारी आदेश तिलिजा पुनका अनुसार अर्नब चक्रवातका कारण पछिल्ला एक–दुई दिन पर्यटक आगमन प्रभावित भए पनि अहिले पर्यटकको चहलपहल पुरानै लयमा फर्किएको छ । खोप्रामा पाउद्वार पर्यटन सहकारी संस्थाले सामुदायिक लज सञ्चालन गर्दै आएको छ ।

    घोडेपानी, कास्कीको घान्द्रुक, बयली, ढाडखर्क र नारच्याङको लेकगाउँ हुँदै पर्यटक खोप्रा लेक पुग्ने गर्छन् । त्यहाँबाट समुद्री सतहदेखि चार हजार ६०० मिटर उचाइमा रहेको खयरतालको भ्रमण गरी लरेनी र पाउद्वार हुँदै अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर फर्किने मार्ग प्रचलनमा छ ।

    पहिरोले सडक अवरुद्ध भए पनि खोप्रालगायतका पर्यटकीय स्थल सुरक्षित रहेकाले भ्रमण गर्न सकिने हिलडाँडाका होटल व्यवसायी जसे पुनले बताए। उनका अनुसार असोज–कात्तिक र चैत–वैशाख खोप्रा–खयर पदमार्गमा पर्यटकको मुख्य चहलपहल हुने समय हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images