काठमाडौं – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने लक्ष्यसहित तयारी गर्न प्रदेशका खेलकुद निकायलाई आग्रह गरेको छ । उनले उत्कृष्ट खेलाडी छनोट, सक्षम प्रशिक्षकको व्यवस्था र प्रभावकारी तयारीका लागि बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाएको हो ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका सम्बन्धमा बसोबास व्यवस्थापन उपसमितिले आइतबार आयोजना गरेको छलफलमा मुख्यमन्त्री शाहीले निष्पक्ष रूपमा उत्कृष्ट खेलाडी छनोट गरी पदक जित्ने लक्ष्यका साथ अघि बढ्न कर्णाली प्रदेश खेलकुद विकास परिषद्लाई आग्रह गरे । खेलाडी छनोट र प्रशिक्षणमा कुनै सम्झौता नगर्न आग्रह गर्दै उहाँले प्रदेश सरकारले मागभन्दा बढी बजेट उपलब्ध गराउनसमेत तयार रहेको बताए।
“तपाईंहरू राम्रा खेलाडी छनोट गर्नुस्, निष्पक्ष भएर खेलाडी छनोट गर्नुस्, राम्रा प्रशिक्षक ल्याउनुस् र पदक जित्ने तयारीमा लाग्नुस्, बजेटको कुनै समस्या हुँदैन,” उनले भने। दशौँ राष्ट्रिय खेलकुद कर्णालीका लागि अवसर र चुनौती दुवै भएकाले सबै पक्ष मिलेर यसको सफल आयोजना गर्नुपर्ने उनको भनाइ थियो ।
मुख्यमन्त्री शाहीले प्रतियोगिताको व्यवस्थापन प्रदेश सरकार, खेलकुद परिषद् वा सरकारी निकायको एकल प्रयासबाट मात्र सम्भव नहुने बताए । आयोजक संघीय सरकार भए पनि प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुन लागेकाले कुनै कमजोरी हुन नदिन सबै सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको उहाँले उल्लेख गरे । प्रतियोगिता फेरि स्थगित हुन्छ कि भन्ने आशङ्का नगर्न पनि उनले आग्रह गरे ।
छलफलमा सामाजिक विकासमन्त्री जितबहादुर मल्लले कर्णाली प्रदेशले जिम्मेवारी पाएका चारवटै उपसमितिको काम हालसम्म सन्तोषजनक रहेको बताए । बाँकी उपसमितिले गरिरहेका कामबारे पनि चासो राख्दै उनले प्रतियोगिता व्यवस्थापनको जिम्मेवारीलाई गम्भीरतापूर्वक लिएर कुनै कसर बाँकी नराखी तयारी गर्न आग्रह गरे ।
कार्यक्रममा प्रमुख सचिव राधिका अर्याल, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, प्रदेश प्रहरी प्रमुख जयराज सापकोटा, होटल व्यवसायी महासंघका पदमबहादुर शाही तथा तर्कबहादुर शाही र नेपाल पत्रकार महासंघका अध्यक्ष मधुवन बिसीलगायतले प्रतियोगिता व्यवस्थापनका विषयमा सुझाव दिएका थिए ।























