काठमाडौं – तनहुँको भिमाद नगरपालिकामा सयपत्री फूलखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । स्थानीयस्तरमै फूल उत्पादन हुन थालेपछि तिहारलगायत चाडपर्वमा बाहिरबाट आयात हुने फूलको निर्भरता घटाउने सम्भावना बढेको छ । तर उत्पादित फूललाई लामो समयसम्म ताजा राख्ने भण्डारण सुविधाको अभावले किसानलाई चिन्तित बनाएको ।
भिमाद नगरपालिका–५ र ६ का विभिन्न स्थानमा किसान तिहारलाई लक्षित गरी सयपत्री फूलखेतीमा जुटेका छन् । स्थानीय माटोमा फुलेका पहेँला र सुन्तला रङका सयपत्रीले किसानका बारी सजाएका छन् । स्थानीय उत्पादनबाटै चाडपर्वमा हुने फूलको माग पूरा गर्न सकिने सम्भावना पनि देखिएको छ ।
भिमाद नगरपालिका–६ अन्तर्गत बाग्टारको बाँघकुनामा रेनु थापा, सिमबोट जलौदीमा जानुका थापा र बद्रिनाथ गैह्रे तथा ऋषिङ पाटनमा बालकृष्ण गैह्रेले फूलखेती गरेको छ । उनिहरूले दुई–दुई रोपनी क्षेत्रफलमा सयपत्री लगाएको हो ।
स्थानीय किसानलाई फूलखेतीतर्फ आकर्षित गर्न नगरपालिकाले प्राविधिक तथा आर्थिक सहयोग गर्दै आएको छ । नगरपालिकाको कृषि विकास शाखामार्फत प्राप्त सहयोगले फूलखेती विस्तार गर्न प्रोत्साहन मिलेको कृषक रेनु थापाले बताए । स्थानीय उत्पादनको प्रयोग बढाउन सके बाहिरबाट आयात हुने फूलमा निर्भरता घट्नुका साथै किसानको आम्दानी बढाउन सकिने उनको विश्वास छ ।
फूलखेती विस्तार हुँदै गए पनि उत्पादित फूलको व्यवस्थापन किसानका लागि चुनौती बनेको छ । चाडपर्वलाई लक्षित गरी उत्पादन गरिएको फूल समयमै बिक्री हुन नसके खेर जाने जोखिम रहेको किसान बालकृष्ण गैह्रेले बताए। फूल टिप्ने समय नजिकिँदै जाँदा त्यसलाई ताजा राख्ने उपयुक्त व्यवस्था नहुँदा लगानी र मिहिनेत खेर जाने चिन्ता रहेको उनको भनाइ छ ।
सयपत्री फूल लामो समयसम्म ताजा राख्न आवश्यक चिस्यानयुक्त भण्डारण सुविधा नहुँदा बजारको माग र आपूर्तिबीच तालमेल मिलाउन कठिन भएको किसान बद्रिनाथ गैह्रेले बताए। स्थानीय बजारमा यहाँ उत्पादित फूललाई प्राथमिकता दिन सके किसानको मिहिनेतको सम्मान हुनुका साथै आगामी वर्ष थप क्षेत्रफलमा फूलखेती विस्तार गर्न प्रेरणा मिल्ने उनको भनाइ छ ।























