images
images
  • प्रहरीले विज्ञप्ति जारी गर्दै भन्यो, ‘आईजीपी दानबहादुर कार्कीको राजीनामाको चर्चा भ्रामक र अपुष्ट हो’

    काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको भन्दै केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका समाचार तथा टिप्पणीप्रति नेपाल प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले बिहीबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै उक्त प्रचारलाई अपुष्ट, भ्रामक र तथ्यहीन भनेको हो ।

    केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अबि नारायण काफ्लेद्वारा जारी विज्ञप्तिमा पुष्टि नभएका विषयलाई अनुमानका आधारमा समाचार र टिप्पणीका रूपमा प्रस्तुत गर्दा आम नागरिकमा भ्रम र नकारात्मकता सिर्जना हुने बताइएको छ ।

    यसका साथै, यस्ता भ्रामक सामग्रीले सुरक्षा जोखिम बढाउने र नागरिकको सेवामा समर्पित संस्थाप्रतिको विश्वास, सांगठनिक छवि तथा निष्ठामा असर पर्न सक्ने भएकाले यस्ता स्वार्थकेन्द्रित सूचनाको पछि नलाग्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता र सरोकारवालाहरूसँग प्रहरीले हार्दिक अनुरोध गरेको छ ।

    सत्य र तथ्यपरक सूचना पाउनु नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै नेपाल प्रहरीले कुनै पनि समाचार वा सूचना प्रकाशन तथा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न आग्रह गरेको छ । सूचनाको सत्यता सुनिश्चित गर्दै पत्रकारिताको व्यावसायिक आचारसंहिता र नागरिकप्रतिको दायित्व निर्वाह गर्न पनि विज्ञप्ति मार्फत अपिल गरिएको छ ।

    नेपाल प्रहरी सरकारको नीति निर्देशन अनुसार नागरिकप्रतिको विधिसम्मत जिम्मेवारी निर्वाह गर्न सदैव समर्पित रहेको जनाउँदै भ्रामक प्रचार वा गैरकानूनी गतिविधिबाट विचलित नभई संवैधानिक र कानुनी दायित्व पूरा गर्न प्रतिबद्ध रहेको स्पष्ट पारेको छ ।

    साथै, सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई उच्च मनोबलका साथ एकाबद्ध भई काम गर्न निर्देशन दिइएको छ । प्रहरीले आम नागरिकलाई प्रमाणित र आधिकारिक समाचारमा मात्र विश्वास गर्न तथा अपुष्ट सामग्रीको अनावश्यक प्रसार नगर्न अनुरोध गरेको छ ।

    नेपाल प्रहरीले सार्वजनिक सुरक्षा, शान्ति अमनचयन र अपराध नियन्त्रणमा आफ्नो प्रतिबद्धता दोहोरÞ्याउँदै सांगठनिक प्रतिष्ठा र कार्यसम्पादनमाथि भ्रम सिर्जना गर्ने नियतप्रति सचेत गराएको छ ।

    साथै, विज्ञप्तिमार्फत संगठनलाई कमजोर बनाउने वा विवादमा तानेर सरकार विरुद्ध खेल्ने उद्देश्यले नियोजित रूपमा भ्रामक सूचना सम्प्रेषण गर्ने सीमित व्यक्तिहरूको चालबाजीमाथि प्रचलित कानुन बमोजिम अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images