images
images
  • इंग्ल्याण्डका स्टार ब्याटर मलान चितवन राइनोजबाट खेल्दै

    काठमाडौं – इंग्ल्याण्डका अनुभवी ब्याटर डेभिड मलान नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजबाट खेल्ने भएका छन् । जारी प्रतियोगितामा चितवनले उनलाई पुनः टोलीमा समावेश गरेको हो ।

    एनपिएलअन्तर्गत आज चितवन राइनोज र विराटनगर किङ्सबीच मध्याह्न प्रतिस्पर्धा हुँदैछ । चितवन राइनोजका निर्देशक प्रताप देवकोटाका अनुसार आक्रामक ब्याटिङका लागि परिचित मलान आजको खेलमा टोलीबाट मैदानमा उत्रनेछन् ।

    अन्तर्राष्ट्रिय क्रिकेटका अनुभवी खेलाडी मलानले गत संस्करणको एनपिएलमा पनि चितवन राइनोजबाट खेलेका थिए। उनी बायाँहाते ब्याटर हुन् भने लेगब्रेक बलिङसमेत गर्छन् ।

    सन् २०२२ मा इंग्ल्याण्डले आईसीसी टी–२० विश्वकप जित्दा मलान टोलीका महत्त्वपूर्ण सदस्य थिए । उनी आईसीसीको टी–२० अन्तर्राष्ट्रिय ब्याटिङ वरीयतामा शीर्ष स्थानमा समेत पुगिसकेका छन् ।

    मलानले टेस्ट क्रिकेटमा एक हजार ७४ रन बनाएका छन् । टेस्टमा उनको उच्च स्कोर १४० रन हो । त्यस्तै, ३० एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा उनले एक हजार ४५० रन बनाएका छन्। एकदिवसीयमा पनि उनको उच्च स्कोर १४० रन रहेको छ ।

    टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६२ खेल खेलेका मलानले एक हजार ८९२ रन बनाएका छन्। यस प्रारूपमा उनको उच्च स्कोर १०३ रन हो ।

    एनपिएलको पहिलो संस्करणमा चौथो स्थान हासिल गरेको चितवन राइनोज दोस्रो संस्करणमा भने सातौँ स्थानमा सीमित भएको थियो। अनुभवी ब्याटर मलानको पुनरागमनले टोलीको ब्याटिङमा कस्तो प्रभाव पार्छ भन्ने चासो आजको खेलमा रहनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images