काठमाडौं – साउदी अरबमाथि भइरहेका आक्रमण र मध्यपूर्वमा बढ्दो तनावका कारण प्रतियोगिताको आयोजनाबारे आशङ्का उत्पन्न भए पनि सन् २०२७ को एसियन कप निर्धारित तालिकाअनुसार साउदी अरबमै आयोजना हुने भएको छ।
एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले सोमबार सार्वजनिक गरेको तालिकाअनुसार प्रतियोगिता जनवरी ७ मा रियादबाट सुरु हुनेछ । उद्घाटन खेलमा समूह ‘ए’ अन्तर्गत आयोजक साउदी अरबले प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्नेछ । रियादस्थित ७२ हजार दर्शक क्षमताको किङ फहद स्पोर्ट्स सिटी स्टेडियममा उद्घाटन खेल हुनेछ। फेब्रुअरी ५ मा हुने फाइनल पनि यही मैदानमा आयोजना गरिनेछ ।
२९ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा कुल ५१ खेल खेलाइनेछन् । खेलहरू रियादका पाँच, जेद्दाका दुई र अल–खोबारको एक गरी आठ स्थानमा आयोजना हुनेछन् ।
सुरक्षा चुनौतीले आयोजनामाथि प्रश्न
आयोजकले प्रतियोगिता निर्धारित समयमै सञ्चालन गर्ने प्रतिबद्धता जनाए पनि क्षेत्रीय सुरक्षा अवस्थाले आयोजनाको भविष्यबारे प्रश्न उठाएको छ। प्रतियोगितामा सहभागी हुने २४ राष्ट्रिय फुटबल महासङ्घमध्ये केहीले सुरक्षा अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् ।
यसअघि सोमबार डाकार र्यालीका आयोजकले क्षेत्रीय घटनाक्रमलाई कारण देखाउँदै सन् २०२७ को प्रतियोगिता साउदी अरबबाट अन्यत्र सार्ने घोषणा गरेका थिए। गत साता जापानका एक वरिष्ठ फुटबल अधिकारीले पनि साउदी अरबको सुरक्षा अवस्थाका कारण निर्धारित समयमा एसियन कप आयोजना गर्न कठिन हुन सक्ने बताएका थिए ।
जापान फुटबल सङ्घका अध्यक्ष सुनायासु मियामोतोले समाचारमा आएका विवरणअनुसार साउदी अरबको अवस्था अझै असुरक्षित रहेको भन्दै वर्तमान परिस्थितिमा प्रतियोगिता आयोजना गर्न सहज नहुने बताएका थिए ।
उनका अनुसार साउदी पक्षसँग भएको छलफलमा खेलाडी, समर्थक र प्रतियोगितामा सहभागी हुने सबैको सुरक्षा पहिलो प्राथमिकता रहेको आश्वासन दिइएको थियो ।
क्षेप्यास्त्र र ड्रोन आक्रमणको प्रभाव
यमनका हुथी विद्रोहीसँग सम्बन्धित आक्रमणका घटनाले साउदी अरबको सुरक्षा अवस्थालाई थप चुनौतीपूर्ण बनाएको छ । यसका कारण त्यहाँ आयोजना हुने भनिएका केही प्रमुख खेलकुद प्रतियोगिता रद्द वा स्थगित भएका छन् ।
साउदी सिभिल डिफेन्सका अनुसार हुथी विद्रोहीले प्रहार गरेको आशङ्का गरिएका दुई ब्यालिस्टिक क्षेप्यास्त्रलाई आकाशमै नष्ट गर्दा तिनका अवशेष मक्का प्रान्तका जेद्दा, ताइफ, राबिघ र वादी अल(मुघम्मास क्षेत्रमा खसेका थिए ।
पछिल्ला हप्ताहरूमा साउदी अरबले क्षेप्यास्त्र र ड्रोन आक्रमणको शृङ्खला सामना गरिरहेको छ । यस्ता आक्रमणबाट नागरिक तथा सैन्य पूर्वाधारमा समेत जोखिम बढेको छ ।
लगातारका आक्रमणका कारण रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानसमेत प्रभावित भएका थिए । साउदी अधिकारीहरूले शनिबार अबेर घोषणा गरेअनुसार आइतबारदेखि विमानस्थलको टर्मिनल २ बाट अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन हुने र टर्मिनल १ आन्तरिक उडानका लागि प्रयोग हुने व्यवस्था गरिएको थियो ।
एएफसीले आवश्यक परे तालिका सार्न सक्ने
एएफसीका अध्यक्ष सलमान बिन इब्राहिम अल खलिफाले यसै महिना आवश्यक परे प्रतियोगिता सन् २०२८ सम्म सार्न सकिने सम्भावना रहेको बताएका थिए। यद्यपि, स्थानीय आयोजक समितिले भने पूर्वनिर्धारित तालिकाअनुसार तयारी अघि बढाउने जनाएको छ ।
प्रतियोगितामा साविक विजेता कतारले जनवरी ११ मा थाइल्यान्डसँग खेल्दै उपाधि रक्षाको अभियान सुरु गर्नेछ । जापानले पनि सोही दिन इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, दक्षिण कोरियाले यमन, अस्ट्रेलियाले सिङ्गापुर र इरानले चीनको सामना गर्नेछन् ।
समूह चरणका खेल जनवरी २० मा सकिनेछन् भने नकआउट चरण जनवरी २२ देखि सुरु हुनेछ ।
सन् २०३४ को फिफा विश्वकप आयोजना गर्न लागेको साउदी अरबले पहिलोपटक एसियन कप आयोजना गर्न लागेको हो। तर, क्षेत्रीय द्वन्द्व र सुरक्षा चुनौतीका बीच प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्नु आयोजकका लागि महत्त्वपूर्ण परीक्षा बन्ने देखिन्छ ।





















