काठमाडौं- इजरायलमा चार वर्षपछि निर्वाचन हुँदैछ । संसारका प्रायः देशका युवाहरूको झुकाव वामपन्थी शक्तितिर बढिरहेको छ । तर इजरायलमा फरक छ । युवाको झुकाव अति दक्षिणपन्थीतर्फ धेरै बढेको छ ।
इजरायलको निर्वाचन आयोगले दिएको जानकारीअनुसार सन् २०२२ को निर्वाचनको समयभन्दा अहिले ५ लाख मतदाता नयाँ थपिएका छन् । अक्टोबर २७ का दिन हुने सो निर्वाचनमा मतदान गर्ने नयाँ मतदातामध्येका ८० प्रतिशत १८ देखि २२ वर्ष उमेर समूहका छन् ।
त्यहाँको थिङ्क ट्याङ्क इजरायल डेमोक्रेसी इन्स्टिच्युट (आईडीआई) का अनुसार धरै यहुदी युवाहरू यस निर्वाचनका कारण बढी उत्सुक भएर पर्खिरहेका छन् । इजरायल च्यानल १२ ले भर्खर गरेको सर्वेक्षणअनुसार एक चौथाइ यहुदी युवाहरू दक्षिणपन्थी छन् । उनीहरू इजरायलमा प्यालेस्टाइनीहरुको उपस्थिति चाहँदैनन् ।
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेलगत्तै इजरायलले पनि हमला सुरु गरेको थियो । यसपछिको यो पहिलो आमनिर्वाचन भएका कारण बेन्जामिन नेतान्याहुले चालेको कदमलाई इजरायली नागरिकले कसरी हेर्ने हो भन्ने पनि धेरैको चासोको विषय बनेको छ ।
विगतमा नै बेन्जामिन नेतान्याहुले आफ्नो सत्ता टिकाउन दक्षिणपन्थीहरूलाई बढी स्थान दिएका थिए । दक्षिणपन्थीहरूको चासो अरब इजरायलप्रति अझ बढी कठोर छ । यसरी दक्षिणपन्थी झुकाव र प्रभाव बलियो बनाउने काममा राष्ट्रिय सुरक्षामन्त्री इतमार बेन गिभिर र अर्थमन्त्री बेजलाल स्मोटरिचको भूमिका बढी छ । प्यालेस्टाइनलाई आतङ्ककारी करार गर्नमा सबैभन्दा बढी केन्द्रित उनै स्मोटरिच थिए ।
अहिले केही भिडियोहरू बाहिर आएका छन् । केही यहुदी युवाहरू अरबहरू इजरायलमा बसेको कुरा स्वीकार समेत गर्न सक्दैनन् । उनीहरू अरबप्रति अत्यन्त कठोर पाइएको छ ।
यसमा केही एकाध व्यक्ति भने फरक पाइएका छन् । अहिले इजरायलको डेमोक्रेटिक पार्टीले वामपन्थी झुकाव राखेको छ । यसरी वामपन्थी झुकाव राख्ने डेमोक्रेट पार्टीकी १८ वर्षीय कार्यकर्ता गिली भने अहिले विकसित भइरहेको मानसिकताको कारण चिन्तित छिन् ।
उनी अक्टोबर ७ को दुःखद घटनापछि इजरायलीहरूमा शान्ति पुनःस्थापना हुने कुरामा आशा जाग्न छाडेको गुनासो गर्छिन् ।
भर्खरै प्रकाशित एक सर्वेक्षणका अनुसार १६ प्रतिशत नयाँ मतदाता अति दक्षिणपन्थी दललाई मत दिने तयारीमा छन् । अति दक्षिणपन्थी नेता बेन गिभिर उनको दलको समर्थनमा टीसर्ट लगाएर सडकमा उत्रनेहरूको जमात नै देख्न सकिन्छ । बेन कार्यकर्ता वेस्ट बैङ्कको पूर्ण रूपमा इजरायलको भएको कुरामा टसमस हुन चाहँदैनन् ।
गत निर्वाचनमा उनको दलले थ्रेसहोल्ड पनि पार गरेको थिएन । यसका बाबजुद नेतान्याहुले महत्त्वपूर्ण स्थान दिएका थिए । यसको असर उनको दलको बढेको प्रभाव हो ।
उनी विभिन्न समयमा जेलमा जाने र त्यहाँ रहेका प्यालेस्टाइनीहरूलाई थर्काउने काम समेत गर्थे । अहिले बाहिर सार्वजनिक भएका धेरै भिडियोले अति दक्षिणपन्थीहरूको अरबप्रतिको दृष्टिकोण प्रस्ट भएको छ । यसले सायद इजरायलको निर्वाचन पनि मध्यपूर्वको शान्तिको बाटो अझ जटिल पनि बन्न सक्नेछ ।
-एजेन्सीहरुको सहयोगमा























