काठमाडौं– इजरायलमा संसदीय निर्वाचन हुन तीन दिनअघि शुक्रबार हजारौँ मानिसहरूले राजधानी तेल अभिभमा प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकारसँग सन् २०२३ अक्टोबर ७ मा भएको हमास आक्रमणसँग जोडिएको सुरक्षा कमजोरीको स्वतन्त्र छानबिन गर्न माग गरेका छन् ।
समाचार संस्था एएफपीका अनुसार प्रदर्शनमा इजरायलका चार प्रमुख विपक्षी दलका नेताहरू सहभागी थिए । तिनमा पूर्वसेना प्रमुख तथा नेतान्याहुका प्रमुख चुनावी प्रतिद्वन्द्वी गादी आइजेनकोट पनि उपस्थित थिए ।
प्रदर्शनको आयोजना ‘अक्टोबर काउन्सिल’ नामक समूहले गरेको थियो । यस समूहमा सन् २०२३ अक्टोबर ७ को हमास आक्रमणमा मारिएका र बन्धक बनाइएका मानिसहरूका परिवारजन सामेल छन् ।

आक्रमणअघि भएको सुरक्षा कमजोरीको छानबिन गर्न एउटा स्वतन्त्र सरकारी आयोग गठन गरिन्पर्ने समूहको माग छ । साथै यी सुरक्षा कमजोरीका लागि जिम्मेवार इजरायली अधिकारीहरूको जवाफदेही पनि तय गरिनुपर्ने उनीहरूको भनाइ रहेको बीबीसीले उल्लेख गरेको छ ।
अर्कातिर नेतान्याहु सरकारले अक्टोबर ७ को आक्रमणसँग जोडिएको सुरक्षा कमजोरीको छानबिनका लागि स्वतन्त्र सरकारी आयोग गठन गर्ने मागको विरोध गरेको छ ।
यसको सट्टा सरकारले आधा सदस्य सत्तारूढ गठबन्धन र बाँकी आधा सदस्य विपक्षी प्रतिनिधिहरूबाट हुने आयोगको प्रस्ताव राखेको छ ।
इजरायलमा यही अक्टोबर २७ मा संसदीय निर्वाचन हुँदैछ । ताजा जनमत सर्वेक्षणका अनुसार निर्वाचनमा नेतान्याहु समर्थक खेमा र विपक्षी दलहरूबीच कडा प्रतिस्पर्धा हुने सङ्केत देखिएको छ ।























