काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स ८७ रनमा अलआउट भएको छ ।
टस हारेर सुरुमा ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले साविक विजेता लुम्बिनी लायन्सलाई ८८ रनको लक्ष्य दिएको छ ।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीबाहेक कुनै पनि खेलाडीले ठूलो स्कोर बनाउन सकेनन् । दीपेन्द्रले २३ बलमा चार चौकासहित सर्वाधिक २७ रन बनाए । दीपेन्द्रलाई किशोर महतोले १२।३ ओभरमा बोल्ड गर्दा सुदूरपश्चिमले ८ विकेट गुमाउँदा मात्र ७० रन बनाएको थियो ।
यसअघि ओपनर साइफ जैवले १३ रन बनाए । उनले १४ बलमा २ रन हिर्काएका थिए । ओपनर विनोद भण्डारी ९, आसिफ शेख डक आउट, ब्रान्डन म्याकमुलेन २, इशान पाण्डे ७ तथा वेष्ट इन्डिजका ब्याटर शेरफन रुथरफोर्डले मात्र १ रन बनाए ।
स्कट कुगेलेइन पनि डक आउट हुँदा सुदूरपश्चिमले ९.५ ओभरमा ७ विकेट गुमाउँदा ५७ रन बनायो । १०औं ओभरमा स्पिनर शेर मल्लले दुई विकेट लिएपछि लुम्बिनी खेलमा हाबी भएको थियो ।
किशोर महतोले पनि १३ ओभरमा लगातार दुई विकेट लिएपछि सुदूरपश्चिम सानो स्कोरमै खुम्चिन बाध्य भयो । हेमन्त धामी पनि डक आउट भए ।
लुम्बिनीको लागि किशोरले सर्वाधिक ४ विकेट लिएका थिए । उनले मात्र २८ रन खर्चिए । यसबाहेक शेर मल्लले ३ तथा साड्ली भान, रोहितकुमार पौडेल र तिलक भण्डारीले समान १ विकेट लिएका थिए ।
लुम्बिनी गत संस्करणको विजेता हो । सुदूरपश्चिमलाई नै हराएर लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन भएको थियो । सुदूरपश्चिमको प्लेइङ लिस्टमा विदेशी खेलाडीहरु सइब जैब, ब्रान्डन म्याकमुलन, स्कट कुग्लिन, सेरफन रुथरफर्डलाई खेलाएको छ ।
नेपाली खेलाडीमा विकेटकिपर विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, हेमन्त धामी, अविनाश बोहोरा र अनिल खरेल छन् ।





















