काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा साविक विजेता लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ । एनपीएलको सोमबार भएको उद्घाटन खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्टिय क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको लुम्बिनीले ८८ रनको सामान्य लक्ष्य तीन विकेटको क्षतिमा ९.५ ओभरमै पूरा गरेको छ । उसको लागि डी’आर्क शर्टले सर्वाधिक ४० रन जोडे । त्यस्तै आशिफ शेखले ३२ रनको योगदान दिए ।
त्यस्तै निरोशान डिक्वेलाले ७ रन बनाउँदा कप्तान रोहित पौडेल र शमिम हुसैनले नटआउट रहँदै क्रमशः ५ र १ रन बनाए ।
बलिङतर्फ सुदूरपश्चिमका अनिल खरेलले २ र कप्तान दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।
पहिलो ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ८७ रन मात्र जोड्न सकेको थियो । सुदूरपश्चिमको लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन जोडे ।
त्यसैगरी सैफ जैबले १३ रन जोड्दा अनिल खरेल १५ रनमा अविजित रहे । विनोद भण्डारीले ९ रन बनाए भने इशान पाण्डेले ७ रन बनाए ।
बलिङतर्फ लुम्बिनी लायन्सका किशोर महतोले सर्वाधिक चार विकेट लिए । शेर मल्लले तीन विकेट लिँदा साड्ली भान शाल्कविक, रोहित पौडेल र तिलक भण्डारीले समान एक–एक विकेट लिएका थिए ।
खेलअघि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले एनपीएल तेस्रो संस्करणको भव्य उद्घाटन गरेका थिए ।





















