काठमाडौं – झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन खोजिएका तीन लाख १६ हजार रुपैयाँभन्दा बढी मूल्यका पटका बरामद गरी नष्ट गरिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं। २ गण झापा तथा मातहतका कार्यालयले सीमा नाका र विभिन्न चेकपोइन्टमा गस्ती तथा जाँच गर्ने क्रममा तीन लाख १६ हजार ५९० रुपैयाँ बराबरका पटका बरामद गरेको हो ।
बरामद गरिएका पटका स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी तथा स्थानीय भद्रभलाद्मीको रोहवरमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ । पटका ओसारपसारमा प्रयोग गरिएको एउटा मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ । उक्त मोटरसाइकल आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं। २ गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुजित विष्टका अनुसार चाडपर्वका समयमा हुन सक्ने चोरीपैठारी तथा अन्य अवैध गतिविधि नियन्त्रण गर्न सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ ।
उनका अनुसार सीमा क्षेत्रमा गस्ती, निगरानी र सवारीसाधन जाँचलाई तीव्रता दिइएको छ । चाडपर्वका समयमा पटका तथा अन्य प्रतिबन्धित सामग्रीको अवैध ओसारपसार रोक्न सुरक्षा निकायले निगरानीलाई थप प्रभावकारी बनाएको सशस्त्र प्रहरीले जनाएको छ ।






















