काठमाडौं – निर्माण सम्पन्न गर्ने समय नजिकिँदै गर्दा भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम सुस्त देखिएको छ । आगामी पुस २७ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि हालसम्म ६५ प्रतिशत मात्रै काम सकिएको छ । निर्माणमा ढिलाइ भइरहेका बेला आयोजनाको लागतसमेत बढेको छ ।
भरतपुर महानगरपालिकाका इन्जिनियर आदर्श पोखरेलका अनुसार बजेट निकासामा ढिलाइ हुँदा निर्माण कम्पनीले बीचको समयमा काम रोकेकाले निर्धारित समयमै आयोजना सम्पन्न गर्न कठिन भएको हो । रङ्गशाला निर्माणमा बागमती प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत खर्च व्यहोर्ने गरी सम्झौता भएको थियो। प्रदेश सरकारबाट बजेट निकासा हुन ढिलाइ हुँदा निर्माण प्रभावित भएको उनले बताए ।
निर्माण कम्पनीले पनि काममा ढिलाइ गरेको महानगरको भनाइ छ । हालको प्रगतिका आधारमा पुस मसान्तसम्ममा निर्माण सम्पन्न हुने अवस्था नरहेको पोखरेलले बताए । निर्माण अवधि सकिन लागे पनि मुख्य मैदानसहित केही महत्त्वपूर्ण संरचनाको काम बाँकी रहेकाले म्याद थप गर्नुपर्ने अवस्था देखिएको छ ।
लागत ७८ करोडबाट बढेर ८६ करोड रुपैयाँ पुग्यो
रङ्गशाला निर्माणको सुरुवाती ठेक्का सम्झौता ७८ करोड ५० लाख ९१ हजार रुपैयाँ (भ्याटसहित) मा भएको थियो । पहिलो भेरिएसन अर्डर (भिओ) असोज २८ गते स्वीकृत भएपछि आयोजनाको लागत बढेर ८६ करोड २४ लाख ८४ हजार रुपैयाँ पुगेको छ ।
लागत वृद्धि हुनुका साथै निर्माण कार्यको दायरा पनि बढेको निर्माण कम्पनीले जनाएको छ । निर्माण सामग्रीको मूल्यवृद्धि, मौसममा आएको परिवर्तन र पुराना संरचनामा निर्माण गर्नुपर्ने अवस्थाले काम प्रभावित भएको निर्माण कम्पनीका व्यवस्थापक सम्राट सिलवालले बताए ।
उनका अनुसार पुरानो संरचनामा काम गर्नुपर्दा प्राविधिक निर्णयहरूबीच तालमेल मिलाउन कठिन भएको छ। यसले निर्माण प्रक्रिया थप जटिल बनाएको उनको भनाइ छ । निर्धारित समयभित्र काम सम्पन्न गर्न नसकिने देखिएकाले कम्पनीले भरतपुर महानगरपालिकासँग म्याद थप माग्ने तयारी गरेको छ । सम्झौता अवधि समाप्त हुनुभन्दा ३५ दिनअघि म्याद थपका लागि निवेदन दिनुपर्ने व्यवस्था छ ।
मैदानको काम मुख्य चुनौती
भरतपुर महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार अहिले रङ्गशालाको मुख्य मैदान निर्माणको काम बाँकी छ । मैदानमा चार तह माटो राखेर पाइप जडान गर्नुपर्नेछ । त्यसपछि नरम माटो राखेर बरुणा नामको घाँस रोप्ने योजना छ ।
अन्य संरचनातर्फ दुईवटा टावरको काम अन्तिम चरणमा पुगेको छ। चारवटा प्यारापिटमध्ये दुईवटा निर्माण सम्पन्न भएका छन् । तेस्रो प्यारापिटको काम ९० प्रतिशत र चौथोको ७० प्रतिशत पूरा भएको छ। विद्युत् जडानको काम पनि बाँकी छ ।
आचार्यका अनुसार निर्माण कम्पनीले नियमित रूपमा काम गरे बाँकी काम सम्पन्न गर्न धेरै समय लाग्ने छैन । हाल रङ्गशालामा दैनिक करिब ८० जना कामदार परिचालित छन्। दसैँको समयमा समेत निर्माण कार्य जारी रहेको उनले बताए ।
म्याद थप्नुपर्ने अवस्थामा आयोजना
निर्माण अवधि सकिन केही महिना मात्रै बाँकी रहँदा कामको प्रगति ६५ प्रतिशतमा सीमित हुनुले निर्धारित समयमै रङ्गशाला सञ्चालनमा आउने सम्भावना कमजोर देखिएको छ। निर्माण कम्पनीले म्याद थपको तयारी गरिरहँदा बाँकी काम कहिलेसम्म पूरा हुन्छ भन्ने विषयमा स्पष्ट समयसीमा सार्वजनिक भएको छैन ।
भरतपुर महानगरपालिकाले भने निर्माण कम्पनीलाई आवश्यक सहजीकरण गरिरहेको जनाएको छ । महानगरका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले निर्माण छिटो सम्पन्न गर्न कम्पनीलाई आग्रह गर्दै आएको बताए। गत आर्थिक वर्षमा भुक्तानीमा केही ढिलाइ भए पनि महानगरको तर्फबाट गर्नुपर्ने अन्य काममा सहजीकरण गरिएको उनको भनाइ छ ।
“रङ्गशाला छिटो सम्पन्न गर्न हामीले निर्माण कम्पनीलाई भनिरहेका छौँ, अब धेरै ढिलो हुँदैन,” अधिकारीले भने ।
अलपत्र आयोजनालाई महानगरले अघि बढाएको थियो
धुर्मुस–सुन्तली फाउन्डेसनले आर्थिक अभावका कारण निर्माण अघि बढाउन नसक्ने जनाउँदै आयोजनाको दायित्व महानगरलाई हस्तान्तरण गरेपछि रङ्गशाला लामो समय अलपत्र परेको थियो। त्यसपछि भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारको संयुक्त लगानीमा निर्माण अघि बढाइएको हो ।
महानगरपालिकाले २०८१ असार २४ गते हिमालयन–कालिञ्चोक बीबीआर जेभीसँग निर्माण सम्झौता गरी काम अघि बढाएको थियो। सम्झौताअनुसार प्रदेश सरकारले ७० प्रतिशत र महानगरले ३० प्रतिशत लगानी गर्ने व्यवस्था गरिएको छ ।
चितवनमा राष्ट्रियस्तरको क्रिकेट क्लब चितवन राइनोज रहेको र नेपाल प्रिमियर लिग ९एनपीएल० प्रति दर्शकको आकर्षण बढ्दै गएको अवस्थामा रङ्गशाला निर्माणलाई चाँडो सम्पन्न गर्नुपर्ने दबाब छ । अन्तर्राष्ट्रियस्तरका क्रिकेट प्रतियोगितासमेत भरतपुरमा आयोजना गर्ने लक्ष्य राखिएको छ ।
तर, लागत वृद्धि, बजेट निकासामा भएको ढिलाइ र निर्माणको सुस्त गतिका कारण आयोजना निर्धारित समयमै पूरा हुनेमा अन्योल देखिएको छ । रङ्गशाला निर्माण सम्पन्न गरी खेल सञ्चालनमा ल्याउन अब बाँकी कामको गति बढाउनु र आवश्यक स्रोतको व्यवस्थापन गर्नु मुख्य चुनौती बनेको छ ।






















