images
images
  • कात्तिक १५ गतेपछि मात्र धान काट्न कृषकलाई आग्रह

    काठमाडौं – कृषि विकास कार्यालयले मौसमको पूर्वानुमानलाई ध्यानमा राखेर मात्र धान काट्न तथा भित्र्याउन कृषकलाई आग्रह गरेको छ । कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षा हुने सम्भावना रहेकाले धानबालीमा क्षति हुन नदिन सावधानी अपनाउन कार्यालयले अनुरोध गरेको हो ।

    कार्यालयले जारी गरेको ‘धानबाली काट्ने तथा भित्र्याउने सम्बन्धी’ सूचनामा पाकेको धान मौसमको अवस्था हेरेर आजैसम्म भित्र्याउन वा कात्तिक १५ गतेपछि मात्र काट्न सुझाव दिइएको छ । तत्काल धान भित्र्याउन सम्भव नभए मौसममा सुधार आएपछि मात्र कटाइ गर्ने गरी समय मिलाउन कृषकलाई आग्रह गरिएको छ ।

    वर्षाका कारण धानबालीमा क्षति पुग्न सक्ने भएकाले खेतको अवस्था र मौसमको पूर्वानुमानलाई ध्यानमा राखेर कटाइ तथा भित्र्याइको काम गर्न कार्यालयले सचेत गराएको छ ।

    त्यसैगरी, धान नपाकेका खेतमा कुलो वा नाली काटेर पानी निकासको व्यवस्था गर्न पनि अनुरोध गरिएको छ। खेतमा पानी जमिरहे धानबालीमा क्षति पुग्न सक्ने भएकाले समयमै निकासको प्रबन्ध गर्न कार्यालयले सुझाव दिएको छ ।

    हावाहुरी वा वर्षाका कारण धान ढलेको अवस्थामा बाला पानीमा डुब्न नदिन मुठो पारेर ठड्याउने वा अग्लो ठाउँमा राख्ने प्रयास गर्न पनि कृषकलाई आग्रह गरिएको छ ।

    मौसम प्रतिकूल हुने सम्भावनालाई ध्यानमा राख्दै सावधानीपूर्वक धान काट्ने र सुरक्षित रूपमा भित्र्याउने व्यवस्था मिलाउन कार्यालयले अनुरोध गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images