काठमाडौं – बागलुङमा पछिल्ला तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न ७० वटा सवारीसाधन कारबाहीमा परेका छन् । जिल्लाका विभिन्न नदी तथा खोलाबाट अनुमति नलिई ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरी ओसारपसार गर्ने टिपर, ट्र्याक्टर, स्काभेटर, डोजर र जेसीबीलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाहीका लागि स्थानीय तहमा पठाएको हो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक यामनारायण अर्यालका अनुसार बागलुङ नगरपालिकाअन्तर्गत पर्ने कालीगण्डकी नदी, गलकोट नगरपालिकाको दरमखोला, बडिगाड गाउँपालिकाको बडिगाड खोला तथा ढोरपाटन नगरपालिकाअन्तर्गतका विभिन्न खोलामा अवैध दोहन गर्ने सवारीसाधन कारबाहीमा परेका हुन् ।
प्रहरीले नियन्त्रणमा लिएका सवारीसाधनलाई सम्बन्धित स्थानीय तहले राजस्व तथा जरिवाना लिएर छाड्ने गरेका छन् । अवैध दोहनबाट भएको क्षतिको आकलन गरी स्थानीय तहले तोकेको न्यूनतमदेखि अधिकतम सीमासम्म जरिवाना निर्धारण गर्ने गरिएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा बागलुङ नगरपालिकामा सबैभन्दा बढी २१ वटा सवारीसाधन कारबाहीमा परेका थिए । सोही अवधिमा ढोरपाटन नगरपालिकामा १४ र बडिगाड गाउँपालिकामा चार वटा सवारीसाधन कारबाहीमा परेका थिए ।
तीन स्थानीय तहले कारबाहीमा परेका सवारीसाधनबाट कुल एक लाख ५७ हजार २८० रुपैयाँ राजस्व संकलन गरेका थिए ।
नदी तथा खोलाबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्दा प्राकृतिक स्रोतमा क्षति पुग्नुका साथै नदीको बहाव, तटीय क्षेत्र र वातावरणमा असर पर्ने जोखिम रहन्छ । अवैध दोहन नियन्त्रणका लागि प्रहरी र स्थानीय तहबीच समन्वय आवश्यक भए पनि कारबाहीको संख्या र संकलित राजस्वले मात्रै दोहनको वास्तविक परिमाण तथा नियन्त्रणको प्रभावकारिता स्पष्ट पार्दैन ।
























