काठमाडौं– नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका क्रममा शेरबहादुर देउवा समूह छाडेर विशेष महाधिवेशनमा सहभागी भएका पाँच नेता पदाधिकारीमा निर्वाचित भएका छन् ।
निर्वाचित हुनेमा महिला उपसभापति पुष्पा भुसाल, समावेशी उपसभापति विनोद चौधरी, खुला महामन्त्री उदयशमशेर राणा, महिला महामन्त्री डा.डिला सङ्ग्रौला र आदिवासी जनजातितर्फका सहमहामन्त्री बहादुरसिंह लामा छन् ।
त्यस्तै, महाधिवेशनको मुखैमा देउवा समूह छाडेर संस्थापन पक्षमा आएका रामहरि खतिवडा खुला सहमहामन्त्री र जीवनबहादुर शाही पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीमा निर्वाचित भएका छन् ।
सभापतिमा गगन थापा ६ हजार ५८४ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्कीले ३७५ मत पाए ।
वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा र महिला उपसभापति पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका हुन् ।
अन्य पदाधिकारीमा खुला उपसभापति डा.चन्द्रकान्त भण्डारी र मधु आचार्य, खुला महामन्त्री प्रदीप पौडेल, समावेशी उपसभापति विनोद चौधरी तथा विभिन्न क्लस्टरका सहमहामन्त्री निर्वाचित भएका छन् ।
कांग्रेसको नयाँ नेतृत्व चयनमा विशेष महाधिवेशनअघि र त्यसक्रममा भएका समूहगत फेरबदलको प्रभाव देखिएको छ ।
























