images
images
  • आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

    काठमाडौं – सरकारले आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोगका लागि नयाँ निर्देशिका जारी गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ जारी गरेको हो । मन्त्रालयले बिहीबार प्रेस नोट जारी गर्दै यसअघि कार्यान्वयनमा रहेको ‘स्वास्थ्य संस्थामा मातृशिशुमैत्री सेवा अभियान निर्देशिका, २०७३’ लाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ निर्देशिका ल्याइएको जनाएको छ ।

    नयाँ निर्देशिकाले सुत्केरी आमा र नवजात शिशुका लागि स्वास्थ्य संस्थाले अनिवार्य रूपमा पालना गर्नुपर्ने १०–१० वटा मापदण्ड निर्धारण गरेको छ । यसको मुख्य उद्देश्य अस्पताल तथा स्वास्थ्य संस्थामा मातृशिशुमैत्री सेवा सुनिश्चित गर्नुका साथै आमा र नवजात शिशुको स्वास्थ्य, अधिकार तथा आवश्यकताअनुसार सेवा प्रवाह गर्नु रहेको मन्त्रालयले जनाएको छ ।

    प्रसवका बेला परिवारको सदस्य साथमा राख्न पाइने

    नयाँ निर्देशिकाअनुसार प्रसवका क्रममा आमाले रोजेको परिवारको सदस्यलाई साथमा रहने व्यवस्था गर्नुपर्नेछ । प्रसवका बेला परिवारको सदस्यको साथले आमाको मनोबल बढाउनुका साथै उनलाई भावनात्मक सहयोग उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

    त्यस्तै, बच्चा जन्मिएपछि नवजात शिशुलाई आमाबाट अलग नराखी आमाकै बेडमा राख्नुपर्ने व्यवस्थालाई प्राथमिकता दिइएको छ । जन्मिएपछि सकेसम्म छिटो स्तनपान गराउने र आमा तथा शिशुबीचको सम्पर्कलाई निरन्तरता दिने व्यवस्थासमेत निर्देशिकामा समेटिएको छ । यसले नवजात शिशुलाई आमाको दूध उपलब्ध गराउन सहज बनाउनुका साथै स्तनपानलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

    आमाको दूधको विकल्पको बिक्रीवितरणमा निगरानी

    निर्देशिकाले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्रीवितरण नियन्त्रण) ऐन, २०४९ को प्रभावकारी कार्यान्वयनमा समेत सहयोग गर्नेछ । आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने वस्तुको बिक्रीवितरण तथा प्रवर्द्धनलाई नियमन गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्ने उद्देश्य निर्देशिकाले राखेको छ ।

    स्वास्थ्य संस्थामा स्तनपानका लागि अनुकूल वातावरण निर्माण गर्ने, आमालाई आवश्यक परामर्श तथा सहयोग उपलब्ध गराउने र नवजात शिशुको स्वास्थ्य तथा सुरक्षालाई प्राथमिकतामा राखेर सेवा प्रवाह गर्ने विषयमा पनि निर्देशिकाले जोड दिएको छ ।

    घर फर्किएपछि पनि स्वास्थ्यको निगरानी

    नयाँ निर्देशिकाले सुत्केरी आमा र नवजात शिशु स्वास्थ्य संस्थाबाट डिस्चार्ज भएर घर फर्किएपछि पनि उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने व्यवस्था गरेको छ । त्यसका लागि स्वास्थ्य संस्थाले सम्पर्क व्यक्ति अर्थात् ‘फोकल पर्सन’ तोक्नुपर्नेछ । उक्त व्यक्तिमार्फत आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिने, आवश्यक परामर्श तथा सहयोग उपलब्ध गराउने र सम्भावित स्वास्थ्य समस्याको समयमै पहिचान गर्न सहजीकरण गरिनेछ ।

    यस व्यवस्थाले सुत्केरीपछिको अवधिमा आमा र नवजात शिशुले आवश्यक स्वास्थ्य सेवा तथा परामर्श प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ । मन्त्रालयका अनुसार नयाँ निर्देशिकामार्फत प्रसवदेखि सुत्केरीपछिको अवस्थासम्म मातृ तथा नवजात शिशुमैत्री सेवाको निरन्तरता सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोगलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउने लक्ष्य राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images