images
images
  • एमाले बागमती सम्पर्क कमिटीको ‘मिसन पार्टी जागरण अभियान’ र शुभकामना कार्यक्रम सम्पन्न

    काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सम्पर्क कमिटीले दसैँ, तिहार, नेपाल सम्वत् तथा छठलगायतका राष्ट्रिय चाडपर्वको अवसरमा आयोजना गरेको ‘मिसन पार्टी जागरण अभियान तथा प्रशिक्षणात्मक शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रम’ शनिबार काठमाडौंमा सम्पन्न भएको छ ।

    काठमाडौंको शंखमूलस्थित ए–वान पार्टी प्यालेसमा आयोजित कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेल प्रमुख अतिथि तथा पार्टी सचिव महेश बस्नेत विशेष अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा पार्टीका शीर्ष नेताहरू, विभिन्न तहका कमिटीका प्रतिनिधि, कार्यकर्ता, ताम्बा कलाकार तथा सञ्चारकर्मीको उल्लेख्य उपस्थिति थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले वर्तमान सरकार स्वेच्छाचारी तथा अधिनायकवादी बाटोतर्फ अघि बढ्न खोजेको आरोप लगाएका छन् । पर्याप्त तथ्य र प्रमाणबिना पक्राउ गर्ने तथा सुरक्षाका नाममा नियन्त्रणमा लिइएका व्यक्तिलाई भेटेको आधारमा सुरक्षाकर्मीमाथि कारबाही गर्ने कार्यले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएको उनको भनाइ थियो ।

    लोकतान्त्रिक उपलब्धिको रक्षा गर्नु एमालेसहितका राजनीतिक दलहरूको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्दै उनले पार्टीलाई जनतासँग थप जोड्न विगतका कमजोरी सुधार गरेर अघि बढ्नुपर्नेमा जोड दिए । छिमेकी मुलुकहरूसँगको सम्बन्ध सञ्चालनमा पनि संवेदनशील हुनुपर्ने उनको धारणा थियो ।

    त्यसैगरी, पार्टी सचिव बस्नेतले बढ्दो महङ्गीका कारण सर्वसाधारणको जनजीवन प्रभावित भएको बताए । खाद्य सामग्रीको मूल्य २०० प्रतिशतभन्दा बढी बढेको दाबी गर्दै उनले महङ्गीले दसैँ र तिहारलगायत चाडपर्व मनाउनसमेत नागरिकलाई कठिन बनाएको टिप्पणी गरे । ग्यास अभावका कारण उपभोक्ता लाइनमा बस्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले सरकारको ध्यान जनताको दैनिक समस्या र शान्ति सुरक्षातर्फ केन्द्रित हुनुपर्ने बताए ।

    कार्यक्रमका अन्य वक्ताहरूले नेकपा एमालेमाथि पछिल्लो समय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घेराबन्दी भइरहेको चर्चा गर्दै त्यसलाई चिरेर अघि बढ्नुपर्ने बताए । एमालेमाथिको घेराबन्दी र आरोपहरू चिरेर जनतालाई लोकप्रियतावादको निद्राबाट ब्युँझाउनु नै अहिले एमालेको मुख्य कार्यभार रहेको उनीहरूको भनाइ थियो ।

    पार्टीका स्थायी कमिटी सदस्य एवम् सम्पर्क विशेष सङ्गठन कमिटीका इन्चार्ज लालबाबु पण्डित, केन्द्रीय कमिटी सदस्यहरू आनन्दप्रसाद पोखरेल, बालिका गिरी, डा. श्याम बस्नेत र पुष्पराज श्रेष्ठ तथा केन्द्रीय अनुशासन आयोगकी सदस्य रणकुमारी बलम्पाकी मगरलगायतका नेताहरू अतिथिका रूपमा सो कार्यक्रममा सहभागी थिए ।

    बागमती प्रदेश सम्पर्क कमिटीका अध्यक्ष सरोजमोहन लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष अमृत खड्काले राखेका थिए भने सञ्चालन सचिव धनबहादुर पुलामीले गरेका थिए । सो अवसरमा कमिटीका पूर्व अध्यक्ष तथा इञ्चार्जहरूलाई मायाको चिनोस्वरुप प्रसंशापत्र प्रदान गरिएको थियो ।

    साथै, गत भदौ १० गते चीनको ल्हेन्दे हुँदै भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट पीडित जनताको उद्धार, सहयोग, राहत सङ्कलन तथा वितरण, पुनर्स्थापना एवम् पुनर्निर्माण कार्यका लागि सञ्चालित ‘स्वयमसेवक परिचालन अभियान’ मा सहभागी करिब २०० जना स्वयमसेवकलाई प्रशंसापत्र प्रदान गरिएको थियो । उनीहरूको अमूल्य सहयोग, योगदान, सेवाभाव र समर्पणको उच्च कदर गर्दै उक्त प्रशंसापत्र प्रदान गरिएको कमिटीका अध्यक्ष सरोजमोहन लामाले जानकारी दिए ।

    कार्यक्रममा सम्पर्क विशेष सङ्गठन कमिटीका अध्यक्ष अशोककुमार ठकुरीसहित विभिन्न पदाधिकारी तथा सदस्य, बागमती प्रदेश सम्पर्क कमिटीका सल्लाहकार, जिल्ला तथा पालिका सम्पर्क कमिटीका प्रतिनिधि र पार्टीका विभिन्न तहका नेता–कार्यकर्ताको उपस्थिति थियो । पर्वहरूको शुभकामना आदानप्रदान, चियापान तथा प्रशिक्षणमार्फत पार्टीका नेता–कार्यकर्ता र विभिन्न तहका सम्पर्क कमिटीबीच आपसी सम्बन्ध, सहकार्य र सङ्गठनात्मक सक्रियता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images