काठमाडौं। पूर्वराष्ट्रपति विद्या भण्डारी एवम् एमालेका वरिष्ठ नेता विद्या भण्डारीले अध्यक्ष केपी ओलीलाई अनिवार्य सहयोग गर्नुपर्ने भएको छ। विधानले अध्यक्षको विपक्षमा कुनै धारणा राख्न समेत घुमाउरो पाराले रोक लगाएको छ।
सो पार्टीको हालै सम्पन्न स्थायी समिति बैठकपछि जारी अपानि ३ मा यस्तो विषय उल्लेख छ।
पार्टीको विधानलाई बाधा अड्काउ फुकाउको सहयोगमा संशोधन गर्दै वरिष्ठ नेताले अध्यक्षलाई सहयोग गर्ने अनिवार्य बनाइएको छ। गएको भदौ २२ गते सम्पन्न पार्टीको विधान अधिवेशनले वरिष्ठ नेताको पद खारेज गरेको थियो । तर खारेज हुनुअघिको विधानमा अध्यक्षको अनुपस्थितिमा वरिष्ठ नेताले अध्यक्षले गर्ने सबै काम गर्ने उल्लेख थियो।
तर यसपटक भने चातुर्यपूर्ण भाषा प्रयोग गर्दै वरिष्ठ नेताको लगाम आफ्नो हातमा राख्न ओलीले प्रयास गरेको देखिन्छ।
बाधा अड्काउ फुकाउ गर्दै वरिष्ठ नेताको अधिकार र कर्तव्यबारे नयाँ परिभाषा गरिएको छ।
अध्यक्षपछिको दोस्रो वरीयतामा रहेर केन्द्रीय कमिटी, पोलिटब्यूरो, स्थायी कमिटी र सचिवालयको बैठकमा भाग लिने र अध्यक्षलाई सहयोग गर्ने तथा पार्टीलाई सही एवम् समयोचित निर्णय गर्न योगदान दिने भन्ने व्यवस्था गरिएको छ।
त्यस्तै वरिष्ठ नेताको हैसियतले पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र प्रतिष्ठाको पक्षपोषण गर्ने, केन्द्रीय कमिटी, पोलिटब्यूरो, स्थायी कमिटी र सचिवालयले तोकेका कार्यहरु गर्ने संशोधित विधानमा उल्लेख छ ।























