काठमाडौ.– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा १२ जनाको मृत्यु भएको छ भने ३०९ जना घाइते भएका छन् ।
घटनापछि साउदी नेतृत्वको गठबन्धनले यमनका हुथी विद्रोहीविरुद्ध ‘निर्णायक’ जवाफ दिने प्रतिबद्धता जनाएको छ ।
गठबन्धनले आक्रमणका लागि इरान समर्थित हुथी समूहलाई जिम्मेवार ठहर गर्दै घटनालाई ‘युद्ध अपराध’ भनेको छ ।
कूटनीतिक स्रोतका अनुसार विमानस्थलमा क्षेप्यास्त्र प्रहार गरिएको थियो ।
साउदी नागरिक उड्डयन प्राधिकरणका अनुसार मृतकमा चार साउदी नागरिकसहित बङ्गलादेश, अमेरिका, इजिप्ट, जोर्डन, सिरिया, प्यालेस्टाइन र सुडानका नागरिक छन् ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।
आक्रमणपछि विमानस्थलको सञ्चालन रोकिएको थियो ।
प्रत्यक्षदर्शीका अनुसार आन्तरिक उडान टर्मिनलमा क्षेप्यास्त्र प्रहार हुँदा यात्रु घाइते भएका थिए र मानिस ज्यान जोगाउन भागाभाग गरेका थिए ।
घाइतेमध्ये मक्का जान लागेका तीर्थयात्रीसमेत रहेको चिकित्सकले बताएका छन् ।
गठबन्धनका प्रवक्ता तुर्की अल–माल्कीले सर्वसाधारण यात्रु र विमानस्थलका कर्मचारीमाथि भएको आक्रमणको निन्दा गर्दै दोषीलाई जवाफदेही बनाउने बताएका छन् ।
यसअघि गठबन्धनले साउदी अरबतर्फ प्रहार गरिएका क्षेप्यास्त्र रोकिएको र प्रक्षेपणस्थल नष्ट गरिएको दाबी गरेको थियो ।
शनिबारको आक्रमणको जिम्मेवारी हुथीले तत्काल लिएका छैनन् ।
घटनापछि रियादका विद्यालयले एक साताका लागि अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेका छन् ।
अमेरिका, क्यानडा, जर्मनी र स्पेनका दूतावासले पनि आफ्ना नागरिकलाई विमानस्थल नजान चेतावनी दिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथीविरुद्धको सैन्य कारबाहीमा अमेरिका सहभागी हुन सक्ने सङ्केत गर्दै साउदी अरबमाथिको आक्रमणलाई ‘अस्वीकार्य’ बताएका छन् ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले पनि घटनाको निन्दा गर्दै साउदी अरबको सुरक्षाप्रति आफ्नो देशको प्रतिबद्धता दोहो¥याए ।
यमनमा साउदी समर्थित सरकारी फौज र हुथी विद्रोहीबीचको द्वन्द्व चर्किरहेका बेला भएको यस आक्रमणले क्षेत्रीय तनाव थप बढ्ने आशङ्का गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्





















