मुस्ताङ– बेनी-जोमसोम सडक सञ्चालन भएसँगै यहाँबाट १७३ वटा कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरेका छन् । चीनबाट आयातित सामान बोकेका ती कन्टेनर पोखरा, काठमाडौँलगायत सहरी भेगमा प्रस्थान गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवा् सूचना अधिकारी सन्तोष बस्यालका अनुसार बेनी-जोमसोम अवरुद्ध सडक खुलेसँगै कोरला नाकाबाट पैठारी गरिएका मालवस्तु बोकेका कन्टेनरहरु मुस्ताङबाट बाहिरिन थालेका छन् ।
उनले सडक अवरुद्धका कारण दुई सातादेखि मुस्ताङमा फसेका कन्टेनरहरुमध्ये पहिलो दिन ८५ वटा मालवस्तु कन्टेनर मुस्ताङबाट बाहिरिएको जानकारी दिए । सडक खुलेको दोस्रो दिन मुस्ताङबाट थप ८८ वटा मालवस्तु कन्टेनर बेनीतर्फ बाहिरिएको उनले बताए ।
म्याग्दी र मुस्ताङको सिमाना थासाङ-४ घाँसास्थित प्रहरी चौकीका अनुसार सडक खुलेको दुई दिनमा ३९१ वटा विभिन्न सवारीसाधन मुस्ताङबाट बाहिरिएका छन् ।
यसैबीच मुस्ताङमा उत्पादित स्याउ बजार पठाउन थालिएको चिम्ले स्याउ फार्मका सञ्चालक कर्म गुरुङले जानकारी दिए ।


विश्व खबर 



















