काठमाडौं– प्रविधि क्षेत्रका कम्पनीहरूको सेयर मूल्य बढेपछि शुक्रबार अमेरिकी सेयर बजारमा सुधार आएको छ। उतारचढावपूर्ण व्यापारिक साताको अन्त्यमा प्रमुख तीनवटै सेयर सूचक बढेर बन्द भएका छन्।
शुक्रबार डाउ जोन्स ०.८३ प्रतिशतले बढेर ५१६५४.९५ बिन्दुमा पुगेको छ। एसएन्डपी ५०० सूचक ०.५९ प्रतिशतले बढेर ७८११.५४ बिन्दुमा पुगेको छ भने नास्डाक कम्पोजिट ०.६४ प्रतिशतले बढेर २७३६६.१७ बिन्दुमा बन्द भएको छ।
एसएन्डपी ५०० अन्तर्गतका ११ क्षेत्रमध्ये नौ क्षेत्रको सेयर मूल्य बढेको छ। रियल इस्टेट र उपभोक्ता वस्तु तथा सेवा क्षेत्रले राम्रो प्रदर्शन गरेका छन्। माइक्रोसफ्ट, अमेजन र पालान्टिरको सेयर मूल्य बढ्दा प्रविधि क्षेत्रलाई पनि सहयोग पुगेको छ।
तर, स्पेसएक्सले रेडियो स्पेक्ट्रम प्रयोग अनुमतिपत्र खरिद गर्ने सहमति गरेपछि परम्परागत दूरसञ्चार कम्पनीका सेयर मूल्य घटेका छन्। एटी एन्ड टी, टी–मोबाइल यूएस र भेरिजोनका सेयर मूल्य ८.७५ देखि १३।२७ प्रतिशतसम्म घटेका छन्।
यसैबीच, अमेरिकी उपभोक्ताको विश्वास कमजोर बनेको छ। मिशिगन विश्वविद्यालयको उपभोक्ता भावना सूचक अक्टोबरमा घटेर ४६.३ मा पुगेको छ। यो पाँच महिनायताकै न्यून स्तर हो। आगामी एक वर्षमा मुद्रास्फीति ४।७ प्रतिशत पुग्ने उपभोक्ताको अनुमान छ।
अब लगानीकर्ताको ध्यान आगामी साताको कम्पनीहरूको वित्तीय नतिजामा केन्द्रित हुनेछ। सिटीग्रुप, वेल्स फार्गो, युनाइटेडहेल्थ ग्रुप र जोन्सन एन्ड जोन्सनले वित्तीय विवरण सार्वजनिक गर्नेछन्। यी नतिजाले अमेरिकी सेयर बजारको आगामी दिशा तय गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।


विश्व खबर 



















