काठमाडौं– पहिरोले नदी थुनिएर पछि फुट्दा बुढीगण्डकीमा आकस्मिक बाढी आएको हुन सक्ने बाढी पूर्वानुमान महाशाखाले प्रारम्भिक अनुमान गरेको छ ।
पछिल्लो २४ घण्टामा उक्त क्षेत्रमा छिटपुट मात्रै वर्षा भएकाले वर्षाका कारण बाढी आएको सम्भावना कम देखिएको महाशाखाले जनाएको छ ।
आइतबार बिहान आरुघाट मापन केन्द्रमा जलसतह तीव्र रूपमा बढेर ८.४३ मिटर पुगेको थियो ।
त्यसपछि बाढीले पुलसहित मापन केन्द्र बगाएकाले थप विवरण प्राप्त हुन सकेको छैन ।
महाशाखाले बुढीगण्डकी तटीय क्षेत्रदेखि बेनीघाटसम्मका बासिन्दालाई एसएमएसमार्फत पूर्वसूचना पठाएको थियो ।
दुईपटक गरी करिब दुई लाख एसएमएस पठाइएको महाशाखाले जनाएको छ ।
नदीको बहाव घटेको देखिए पनि जोखिम कायमै रहेकाले बुढीगण्डकीको तटीय तथा तल्लो तटीय क्षेत्रका बासिन्दालाई आइतबार साँझसम्म सुरक्षित स्थानमा रहन र नदी किनार तथा जोखिमयुक्त सडकमा आवागमन नगर्न आग्रह गरिएको छ ।


विश्व खबर 




















