images
images
  • सडक अवरोध र प्रतिकूल मौसमले भेडाच्याङ्ग्रा बजार पुर्‍याउन ढिलाइ, किसान बिक्रीको चिन्तामा

    काठमाडौं –। दसैँका लागि भेडाच्याङ्ग्रा बिक्री गर्न मुगु र डोल्पाबाट हिँडेका किसान प्रतिकूल मौसम, हिमपात र सडक अवरोधका कारण यस वर्ष सास्ती खेप्न बाध्य भएका छन् । लामो र कष्टकर यात्रा गरेर बजारसम्म आइपुग्दा पनि दसैँको समयमै बिक्री गर्न पाइने हो वा होइन भन्ने चिन्ताले किसानलाई सताएको छ ।

    मुगुको छायानाथ रारा नगरपालिका–६ का सञ्जय बिकसहित चार जना किसान दुई सय भेडाच्याङ्ग्रा लिएर ३६ दिनको यात्रापछि शुक्रबार साँझ म्याग्दीको गलेश्वर आइपुगेका छन्। पोखरामा दसैँका लागि भेडाच्याङ्ग्रा बिक्री गर्ने उद्देश्यले उनीहरू गत भदौ १८ गते घरबाट हिँडेका थिए । टोलीले आफ्नै घरमा पालेका एक सय र छिमेकीबाट खरिद गरेका एक सय भेडाच्याङ्ग्रा बजारतर्फ ल्याएको हो ।

    प्रतिकूल मौसम र मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध हुँदा यात्रा निकै कठिन भएको बिकले बताए। डोल्पाको छार्कामा हिमपात भएपछि एक साता रोकिनुपरेको उनको भनाइ छ। घरबाट हिँडेको ३६ दिनमा बल्ल गलेश्वर आइपुगेको उल्लेख गर्दै उनले ढिलो भएकाले बजारमा भेडाच्याङ्ग्रा बिक्री हुने हो वा होइन भन्ने चिन्ता बढेको बताए। उनको टोलीले शनिबार गलेश्वरबाट भेडाच्याङ्ग्रा गाडीमा राखेर पोखरा लैजाने योजना बनाएको छ ।

    डोल्पाको काइके गाउँपालिका–२ का मानप्रसाद रोकायासहित सात जना किसान पनि सात सय भेडाच्याङ्ग्रा लिएर पोखरातर्फ लागेका छन् । घरबाट हिँडेको २२ दिन भइसकेको उनीहरूको टोली शुक्रबार म्याग्दीको घोडेपानी हुँदै कास्कीको पोखरातर्फ अघि बढेको हो । भेडाच्याङ्ग्रापालनलाई मुख्य पेसा बनाएका यी किसान हरेक वर्ष बिक्रीका लागि विभिन्न बजार पुग्ने गरे पनि यसपालि बाढीपहिरो र सडक अवरोधका कारण यात्रा प्रभावित भएको छ ।

    गत असोज ८ देखि ११ गतेसम्मको वर्षापछि आएको बाढीपहिरोले बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध बनाउँदा भेडाच्याङ्ग्रा पैदल खेदाएर ल्याउने र सवारीसाधनमार्फत ढुवानी गर्ने दुवै काम प्रभावित भएका छन्। सडकको अवस्थाका कारण किसानले लामो दूरी पैदल यात्रा गर्नुपरेको छ भने बजारसम्म पुग्न पनि ढिलाइ भएको छ ।

    डोल्पाको काइके गाउँपालिका–२ सहरताराका सञ्जय बुढा पनि २५ दिनको पैदल यात्रापछि एक सय ६० च्याङ्ग्रा बिक्री गर्न पोखरातर्फ लागेका छन्। समुद्री सतहदेखि चार हजार मिटरभन्दा माथिका क्षेत्रमा पालिएका च्याङ्ग्रा खेदाएर बजारसम्म ल्याउनु सहज नभएको उनले बताए । भिर, खोल्सा र साँघुरो बाटो हुँदै च्याङ्ग्रा बजार पुर्‍याएर बिक्री गर्नु आफूहरूको परम्परागत पेसा भएको उनको भनाइ छ ।

    दसैँ नजिकिँदै गर्दा डोल्पा, जुम्ला र उपल्लो मुस्ताङबाट भेडाच्याङ्ग्रा लिएर आएका किसान तथा व्यापारीको म्याग्दीको जोमसोमदेखि बेनीसम्म चहलपहल बढेको छ । मुस्ताङबाट बेनी–जोमसोम सडक हुँदै गलेश्वर ल्याइएका भेडाच्याङ्ग्रा ट्रक तथा कन्टेनरमा राखेर पोखरा, काठमाडौंलगायत सहरमा पठाउन थालिएको छ। तर, डोल्पाबाट मुस्ताङ आउने बाटो हिउँले ढाकिएका कारण त्यहाँका सबै किसानले भेडाच्याङ्ग्रा बजारसम्म ल्याउन नसकेको कृषि तथा पशुपन्छी विकास कार्यालय मुस्ताङका प्रमुख लालमणि अर्यालले बताए ।

    तातोपानी र रसुवा नाका बन्द रहेकाले यसपालि ठूला सहरमा भेडाच्याङ्ग्रा आपूर्तिको प्रमुख मार्ग मुस्ताङ बनेको छ। जोमसोममा भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण गरी निकासी अनुमति दिने व्यवस्था गरिएको छ । कार्यालय प्रमुख अर्यालका अनुसार हालसम्म १० हजार भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण गरी निकासी अनुमति दिइसकिएको छ। गत वर्ष मुस्ताङबाट १८ हजार भेडाच्याङ्ग्रा निकासी भएका थिए ।

    यात्रा लम्बिँदा किसान तथा व्यापारीको लागतसमेत बढेको छ। मुस्ताङमा सडक, विद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा भेडाच्याङ्ग्रा खरिद तथा किसानसँग सम्पर्क गर्न कठिन भएको व्यापारीको भनाइ छ । बेनी नगरपालिका–९ का व्यापारी डेकबहादुर चोखालका अनुसार असोज दोस्रो सातादेखि सडक, विद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा किसानसँग समन्वय गर्न समस्या भएको थियो। सम्पर्क हुन नसक्दा आफूहरूले चाहेजस्तो भेडाच्याङ्ग्रा खरिद गर्न नपाएको उनले बताए ।

    व्यापारीका अनुसार मुस्ताङमा आकारअनुसार एउटा भेडाको मूल्य ३२ हजारदेखि ३५ हजार रुपैयाँसम्म र एउटा च्याङ्ग्राको मूल्य करिब ४० हजार रुपैयाँ रहेको छ। बेनीमा आइपुग्दा भेडाको मूल्य करिब ३६ हजार र च्याङ्ग्राको मूल्य ४५ हजार रुपैयाँसम्म पर्ने व्यापारीले बताएका छन् । बेनी नगरपालिका–९ तोरीपानीका यामबहादुर बानियाका अनुसार पाँच वर्ष उमेर पुगेका च्याङ्ग्रा मासुका लागि उपयुक्त मानिन्छन् । मूल्य महँगो भए पनि दसैँमा हिमाली क्षेत्रमा जडीबुटीयुक्त बुकीमा चरेका च्याङ्ग्राको मासु खाने चलनका कारण यसको माग रहने गरेको छ ।

    मुस्ताङी भेडाच्याङ्ग्राको मुख्य बजार पोखरा र काठमाडौं हुन्। म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, तनहुँ र लमजुङमा समेत यसको माग हुने गरेको धवलागिरि गाउँपालिका–७ का व्यापारी प्रेम छन्त्यालले बताए। दसैँको समयमा हुने बिक्री हिमाली क्षेत्रका धेरै किसानका लागि वर्षभरिको आम्दानी जुटाउने प्रमुख अवसरसमेत हो ।

    मुस्ताङको नामग्यालका किसान तेन्जिङ गुरुङका अनुसार च्याङ्ग्रापालन स्थानीय किसानको मुख्य आयस्रोत हो। मुस्ताङका वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा करिब ५० हजार च्याङ्ग्रा पालिएका छन् । च्याङ्ग्राको शरीरबाट प्राप्त हुने भुवा पस्मिनाको कच्चा पदार्थका रूपमा प्रयोग हुने भएकाले यसको आर्थिक महत्त्वसमेत रहेको छ ।

    यद्यपि, च्याङ्ग्रापालनमा संलग्न किसानले विभिन्न चुनौती सामना गर्दै आएका छन् । हिउँचितुवा र ब्वाँसोको आक्रमणबाट पशु जोगाउन कठिन हुने गरेको छ भने पर्याप्त हिउँ नपर्दा लेकाली क्षेत्रमा घाँस कम उम्रिने र आहार अभाव हुने समस्या छ। अर्कोतर्फ, हिउँदमा अत्यधिक हिमपात हुँदा पनि पशुका लागि पर्याप्त आहार नपाइने अवस्था रहेको किसान बताउँछन् ।

    दसैँको बजारमा भेडाच्याङ्ग्रा बिक्री गरेर वर्षभरिको आम्दानी जुटाउने आशामा हिमाली क्षेत्रका किसानले लामो दूरी पैदल यात्रा गर्दै पशु बजारसम्म ल्याउने गर्छन् । तर, यसपालि प्रतिकूल मौसम, हिमपात र सडक अवरोधले यात्रा लम्बिँदा उनीहरूको खर्च बढेको छ भने बिक्रीमा समेत ढिलाइ भएको छ । समयमै बजार पुग्न नसक्दा मागअनुसार बिक्री नहुने जोखिमले किसानको आम्दानी प्रभावित हुने चिन्ता बढाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images